काठमाण्डौ,श्रावण २७ : अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयासहरू ओझेलमा पर्दै गएका बेला मङ्गलबार अन्तर्राष्ट्रिय समुद्री जलमार्गमा पुनः नयाँ आक्रमणहरू भएका छन्।
यमनस्थित इरान-समर्थित हुथी विद्रोही र अमेरिकी सेनाले आ-आफ्नो क्षेत्रमा जहाजहरूमाथि कारबाही गरिएको दाबी गरेका छन् । यसैबीच, वासिङ्टनले आफ्ना सर्तहरू स्वीकार नगरेसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग बन्द नै रहने चेतावनी तेहरानले दिएको छ।
विश्वव्यापी तेल आपूर्तिका लागि मुख्य मानिने ओमानको खाडी र लाल सागरको प्रवेशद्वारमा आक्रमण तीव्र बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने शेयर बजारमा मन्दी देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा ‘ब्रेन्ट क्रुड’को मूल्य १.४ प्रतिशतले बढेर प्रतिब्यारेल ८८.९१ डलर र अमेरिकी क्रुड १.३ प्रतिशतले बढेर ८३.२० डलर पुगेको छ।
हुथी नियन्त्रित समाचार संस्था ‘साबा’का अनुसार साउदी अरेबियामाथि लगाइएको समुद्री नाकाबन्दीका क्रममा सैन्य सामग्री बोकेको साउदी जहाजमाथि आक्रमण गरिएको हो।
अर्कोतर्फ, अमेरिकी मध्य कमान्डले इरानी बन्दरगाहमा लगाइएको नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा पानामाको ध्वजावाहक जहाजलाई ‘हेलफायर’ मिसाइलमार्फत नियन्त्रणमा लिने प्रयास गरिएको जनाएको छ। ओमानको खाडीनजिकै अमेरिकी हेलिकप्टरले सो जहाजको स्टेयरिङ गियर निष्क्रिय पारिदिएको छ।
दुवै पक्षबाट तनाव बढाउने खालका वक्तव्य आउने क्रम जारी छ । इरानका शीर्ष सुरक्षा अधिकारी मोहसेन रजाईले अमेरिकाले रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा नगरेसम्म र लेबनान तथा गाजासहित सम्पूर्ण क्षेत्रमा द्वन्द्वको अन्त्य नगरेसम्म हर्मुज जलडमरूमध्य नखोलिने स्पष्ट पारेका छन् । यो जलमार्गबाट विश्वको पाँचौँ भाग तेल र एलपीजी ओसारपसार हुने गर्दछ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले ५० वर्ष यताका हिंसा र आक्रमणको क्षतिपूर्ति तिर्नुपर्ने नयाँ सर्त अघि सारेका छन्। ट्रम्पले कूटनीतिक सम्झौताको दाबी गरे पनि इरानलाई आर्थिक रूपमा टाट पल्टाउने वा थप कडा आक्रमण गर्ने दुवै विकल्प खुला रहेको बताएका छन् ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता यो द्वन्द्वमा हजारौँ मानिसले ज्यान गुमाइसकेका छन्। इरानी क्रान्तिकारी गार्ड्सले अब शत्रुको भूभागमै छिरेर कारबाही गर्न सक्ने सैन्य क्षमता विकास गरिरहेको चेतावनी दिएपछि क्षेत्रीय सङ्कट अझ गहिरिने खतरा बढेको छ।












