सुदूरपश्चिम, श्रावण २७ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भोलि राजीनामा दिने भएका छन् । प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि मुख्यमन्त्री शाहले राजीनामा दिन लागेका हुन् ।मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमले मुख्यमन्त्री शाहले भोलि राजीनामा दिने जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री शाहले भोलि प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।
गत असार ३१ गते नेकपा एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहको सरकार अल्पमतमा परेको थियो । संविधानअनुसार विश्वासको मत लिनुपर्ने ३० दिनको समयसीमा पनि भोलि पूरा हुँदैछ।
विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नदेखिएपछि मुख्यमन्त्री शाहले विश्वासको मत लिनुभन्दा राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।
मुख्यमन्त्री शाहले आज पनि प्रदेशका विभिन्न कार्यक्रममा सहभागी हुँदैछन् । यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
मुख्यमन्त्रीले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेबिच सहमति भइसकेको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा नयाँ सरकार गठन हुने तयारी छ।












