वीरेन्द्रनगर भदौ ३ : मन्त्रालयको भागबन्डा टुगिंएसँगै कर्णाली प्रदेशमा सत्तारुढ दल नेकपा एमालेले आफ्नो भागमा परेका मन्त्रालयका लागि मन्त्रीको नाम टुंगो लगाएको छ।
एमालेले बुधबार तीन जना प्रदेशसभा सदस्यलाई मन्त्री बनाउने निर्णय गरेको हो। एमालेले आफ्नो भागमा परेका तीन मन्त्रालयको जिम्मेवारीका लागि टेकराज पछाई, जितबहादुर मल्ल र कलबहादुर हमालको नाम फाइनल गरेको हो।
जसअनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी टेकराज पछाईले पाउने भएका छन्। सामाजिक विकास मन्त्रालयमा जितबहादुर मल्ल र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयमा कलबहादुर हमाललाई पठाउने निर्णय एमालेले गरेको हो।
एमालेबाट सिफारिस गरिएका मन्त्रीहरुलाई प्रदेश प्रमुख यक्षराज जोशीले शफथ खुवाएका छन् । उता नेकपाले भने तीन जना मन्त्री छनोट गर्न सकिरहेको छैन । नेकपाका एक सांसदले पार्टीको संसदीय दलले मन्त्रीको छनोट गर्न छलफल भइरहेको लालबिहानी लाई बताए ।












