२०८३ भाद्र २६ शुक्रबार
Search
२०८३ भाद्र २६ शुक्रबार

फर्जी कागजात पेस गरेका उम्मेदवार उपप्राध्यापकमा सिफारिस

 

काठमाण्डौ, भदौ ६ :  त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगबाट सञ्चालित सामाजिक अध्ययन विषयको उपप्राध्यापक पदको सिफारिसमाथि प्रश्न उठेको छ । फर्जी कागजात पेस गरेका उम्मेदवारलाई शिक्षा शास्त्र सङ्कायतर्फ सामाजिक अध्ययन विषयमा उपप्राध्यापकमा नियुक्त गरेको भन्दै उच्च अदालत पाटनमा उजुरी परेपछि यो विषय सार्वजनिक भएको हो ।

निवेदक तेजप्रसाद पौडेलले सेवा आयोगको खुला प्रतियोगितात्मक लिखित परीक्षामा आफू १ नम्बरमा नाम निकाल्न सफल भए पनि अन्तरवार्तापछि प्रकाशित नतिजामा विपक्षी सुदर्शन कडेललाई गलत अनुभवको अङ्क जोडेर १ नम्बरमा सिफारिस गरिएको रिटमा उल्लेख छ । कडेलले वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अध्यापन गराएको भनी पेस गरेको आंशिक सेवाको झुठा सिफारिसका आधारमा ५ अङ्क बढी पाएर नतिजा प्रभावित पारेको पौडेलको आरोप थियो ।

२०८२ भदौ १८ मा गैरकानुनी सिफारिस रद्द गरी आफूलाई उपप्राध्यापक पदमा सिफारिस गर्न माग दाबी गर्दै पौडेलले उच्च अदालत पाटनमा उत्प्रेषण परमादेशको रिट दायर गरेका थिए । उच्च अदालत पाटनले त्रिवि सेवा आयोग र विपक्षी सुदर्शन कडेलको नाममा लिखित जबाफ मागेको थियो । लिखित जबाफमा आयोगले छानबिन गरिरहेको र आयोगमै विचाराधीन रहेको अवस्थामा अदालतले निर्णय गर्न नमिल्ने तर्क गरिएको थियो ।
सोही आधारमा उच्च अदालत पाटनले यो रिटमाथि अन्तिम निर्णय गर्ने अधिकार त्रिवि सेवा आयोगको रहेको र आयोगमा यो विषयमाथि छानबिन भइरहेको भन्दै रिट खारेज गरिदिएको थियो । त्रिवि सेवा आयोगले अहिलेसम्म यसबारे थप निर्णय नगरेपछि पौडेलले यथाशीघ्र आफूलाई न्याय दिनुपर्ने माग गरेका छन् ।
 

त्रिवि सेवा आयोगले विज्ञापन नम्बर ८२३/०७७/०७८ अन्तर्गत सामाजिक अध्ययन विषयको १ सिट खुला उपप्राध्यापक पदका लागि लिएको परीक्षाको लिखित नतिजामा आफू १ नम्बरमा नाम निकाल्न सफल भए पनि नक्कली अनुभव पत्रका आधारमा आफूलाई वैकल्पिकमा पारिएको दाबी रिट निवेदक तेजप्रसाद पौडेलको छ । एक नम्बरमा आएको व्यक्ति कसरी वैकल्पिकमा पर्‍यो भनी खोजतलास गर्दा अर्का प्रतिस्पर्धी सुदर्शन कडेलले आंशिक सेवा बापतको झुटा कागजात पेस गरी प्रतिवर्ष ०.५ अङ्कका दरले थप ५ अङ्क जोडेर नतिजा प्रभावित पारेको खुलासा भएको पौडेलको भनाइ छ ।

विपक्षी सुदर्शन कडेलले वीरेन्द्र बहुमुखी क्याम्पस चितवनमा अध्यापन गराएको भनी पेस गरेको आंशिक शिक्षण अनुभवको सिफारिस छानबिन गर्दा नक्कली पाइएको निवेदक पौडेलको दाबी छ । त्रिवि शिक्षक नियुक्ति सम्बन्धी विनियम, २०७५ को परिच्छेद १० र १३ को व्यवस्थाअनुसार झुटा विवरण दिई नतिजा प्रभावित पारेमा त्यस्तो सिफारिस स्वतः रद्द हुने प्रावधान रहेकाले कडेललाई दिइएको ५ अङ्क गैरकानुनी भएको उनको तर्क छ ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।