काठमाण्डौ,भदौ ७ : बंगालको खाडीमा पनामाको झण्डा अङ्कित एउटा ठूलो मालवाहक जहाज डुबेको छ। भारतको ओडिशास्थित पारादीप तटबाट करिब २४० नटिकल माइल (४४४ किलोमिटर) टाढा गहिरो समुद्रमा ‘ओसियन विनर’ नामक जहाज दुर्घटनामा परेको हो।
जहाजमा कुल २४ जना चालक दलका सदस्य सवार थिए। जसमा २० जना चिनियाँ, ३ जना म्यान्मार र १ जना बंगलादेशी नागरिक रहेका छन्। भारतीय तट रक्षक बल (इन्डियन कोस्ट गार्ड) ले हालसम्म लाइफ राफ्टमा तैरिरहेका दुई जनालाई सकुशल उद्धार गरेको छ भने बाँकी २२ जना अझै बेपत्ता छन्।
दुर्घटनालगत्तै भारतीय तट रक्षक बल र भारतीय नौसेनाले संयुक्त रूपमा खोजी तथा उद्धार सुरु गरेका छन्। कोस्ट गार्डका अनुसार श्री विजयपुरमबाट विशेष उद्धार जहाज र टोली घटनास्थलतर्फ परिचालन गरिएको छ। बेपत्ता क्रू सदस्यहरूको खोजी कार्य तीव्र पारिएको छ।
सन् १९९८ मा बनेको यो जहाज २२५ मिटर लामो र ३२ मिटर चौडा छ। ७२,९२८ मेट्रिक टन सामान बोक्ने क्षमता भएको यस जहाजलाई हाल मरीन ट्राफिकमा ‘आउट अफ रेन्ज’ देखाइएको छ । प्राविधिक रेकर्ड अनुसार पछिल्लो ३६ महिनामा सुरक्षा र सञ्चालन जाँचका क्रममा यो जहाज तीन पटक नियन्त्रण (डिटेन) मा समेत परेको थियो ।












