२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

भोटेकोशी वितण्डामा अकल्पनीय क्षति : कम्तीमा ९५ जनाको मृत्यु, हजारौं बेपत्ता

 

काठमाण्डौ,भदौ ११ : भोटेकोशीमा अप्रत्याशित रूपमा आएको बाढीका कारण अकल्पनीय क्षति भएको छ। भीषण बाढीले रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी, मैलुङ, बेत्रावती, त्रिशूलीबजार, देवीघाटलगायतका बस्तीहरूमा ठूलो मानवीय र भौतिक क्षति पुर्‍याएको छ। हालसम्म मानवीय र अन्य क्षतिको यथार्थ विवरण प्राप्त भइनसके पनि प्रभावित क्षेत्रका धेरै नागरिक, सुरक्षाकर्मी र कर्मचारी सम्पर्कविहीन भएका छन् । 

बुधबार राति अबेरसम्ममा कम्तीमा ९५ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा कार्यरत ४४ जना नेपाली सेना, २८ नेपाल प्रहरी र १३ सशस्त्र प्रहरी सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रमा ३ सय ९१ जना विदेशी र ९३ जना स्वदेशी पर्यटक सम्पर्कविहीन छन् । प्रभावित क्षेत्रका विद्युत् आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन छन् । रसुवागढी भन्सार, अध्यागमन कार्यालय, स्थानीय पालिकामा कार्यरत कर्मचारी पनि सम्पर्कविहीन छन् । बाढीले १९ वटा मोटरेबल पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त बनाएको छ। ठूलो संख्यामा स्थानीय बासिन्दाहरू सम्पर्कमा छैनन् ।

कतिपय घाइते भएका तथा रसुवाको टिमुरे बजारलगायतका बस्तीहरूका धेरै घर–पसलहरू, पशुचौपायाहरू, भन्सार कार्यालय, प्रहरी चौकीहरू, टेलिकम टावरहरू, सडक, पुल, केही हाइड्रोपावर आयोजनाहरू, विद्युत् गृह र सबस्टेसन, खेतबारीलगायत धेरै ठूलो जनधनको क्षति भएको अवस्था छ। कतिपय बजारको नामोनिसान नै छैन। खण्डहर भएका छन्।

रसुवामा बाढीको वितण्डा : बस्ती विलीन

चीनबाट रसुवा पसेको भीषण बाढीले नदी तटीय क्षेत्रका बस्ती तथा बजारमा ठूलो क्षति पु¥याएको छ। ट्याब्रुकबेँसी, टिमुरे, रसुवागढी, हाकुबेँसी, मैलुङ, सल्लेटार, शान्तिबजार, पहिरेबेँसी, खाल्टे र बेत्रावतीलगायत क्षेत्रमा बाढीले ठूलो क्षति गरेको छ। यी बस्तीहरू भग्नावशेषमा परिणत भएका छन्। रसुवागढीलगायतका बस्तीहरू नै विलीन भएका छन्।

 

 

रसुवाको उत्तरगया गाउँपालिका उपाध्यक्ष चमेली तामाङका अनुसार बाढी आएको सूचना पाएको १५–२० मिनेटमै बाढी बस्तीमा पुगेको जानकारी दिएकी छन् । उनका अनुसार बाढीले एकैपटक ठूलो क्षेत्र ध्वस्त बनाएको छ। उनले भनिन्, ‘माथिबाट खबर भएको, बाढी आयो भनेर खबर भएको १५–२० मिनेटमै तल आइपुग्यो। एकैचोटि ध्वस्त बनाएको हो ।’

बाढीको जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा सार्न गाउँपालिकाका कर्मचारी परिचालन गरिएको थियो। तर उद्धारका लागि खटिएका चार जना कर्मचारीसमेत बाढीमा परेका छन् । ‘मेरा कर्मचारीहरू माइकिङ गरेर बस्तीका मान्छे हटाउन गएका थिए ।

 त्यही चार जना पनि लगे जस्तो छ,’ उनले भनिन्। बाढीले उत्तरगया गाउँपालिकाका दुईवटा कार्यालय भवनसमेत बगाएको तामाङले जानकारी दिएकी छन्। उनका अनुसार नयाँ र पुरानो दुवै पालिका भवन बाढीले क्षति पु¥याएको छ। ‘पालिकाका दुवै भवन लग्यो। अध्यक्षको भवन, भवन सबै लग्यो।’ उपाध्यक्ष तामाङले भनिन्, ‘क्षतिको के कुरा, रसुवाका खोला किनारका सबै बगायो।’ उनले बाढीबाट मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने तत्काल प्राप्त हुन सक्ने अवस्था नरहेको बताएकी छन्। क्षतिको अवस्था यति ठूलो रहेको भन्दै उनले मानवीय क्षतिको विवरण संकलन गर्नसमेत समय लाग्ने उनको भनाइ छ। ‘मान्छेको संख्या त यही भन्न र यत्तिकै धेरै दिन लाग्छ,’ उनले भनिन्। उनका अनुसार बाढीमा फसेका तथा जोखिममा रहेका केही नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। 

दिउँसो करिब साढे २ देखि ३ बजेसम्म भिरमा झुन्डिएर बसेका मानिसको उद्धार गरिएको तामाङले जानकारी दिएकी छन्। त्यसपछि पुनः मुसलधारे वर्षा भएपछि हेलिकोप्टर अवतरण गर्न नसकेको उनले जानकारी दिएकी छन्। ‘भिरमै झुन्डिएर बसेका मान्छेहरूलाई दिउँसो साढे २–३ बजेसम्म हेलिले रेस्क्यु ग¥यो। अहिले फेरि मुसलधारे पानी परेर हेली नै ल्यान्डिङ हुन सकेन,’ उनले भनिन् । उनका अनुसार उद्धार हुन बाँकी रहेका केही नागरिक भने पैदल हिँडेर बस्ती–बस्तीबाट सम्पर्कमा आउन थालेका छन् । तर सबै क्षेत्रमा सम्पर्क स्थापित भइनसकेको उपाध्यक्ष तामाङले जानकारी दिएकी छन्। ‘हामीसँग कन्ट्याक्टमा भएर रेस्क्यु गर्नुपर्छ भनेका मान्छेहरूलाई रेस्क्यु ग¥र्यौं। बाँकी चाहिँ पैदल हिँडेर पनि बस्ती–बस्ती पुगेर अहिले हामी सुरक्षित छौं भनेर सम्पर्कमा आउन थालेका छन्,’ उनले भनिन्।

बाढीले रसुवाको ठूलो भूगोल प्रभावित भएकाले क्षतिको पूर्ण विवरण आउन अझै समय लाग्ने उनले बताएकी छन्। गोसाइँकुण्ड गाउँपालिका वडाध्यक्ष उर्केन छिरिङ तामाङले पालिकाको कार्यालय आसपासको करिब ६० प्रतिशत बस्ती बाढीले बगाएको बताए । ‘बाढीको जोखिम बढेपछि भाग्न सक्ने भागे, भाग्न नसक्ने के भयो होला, अनुमान गर्न सकिन्न,’ उनले भने । तर उनले यति छिटो बाढी आउँदा मान्छे भाग्न पनि नपाएको बताए । उनले भने, ‘भाग्न सक्ने मानिसहरू भागे। बाढी यति छिटो आयो कि भाग्न पनि पाएनन्।’

स्याफ्रुबेँसीका स्थानीयसमेत रहेका गाउँपालिका उपाध्यक्ष प्रतिभा तामाङ (लामा) र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार लामा (वाइबा) सहित धेरै स्थानीय बासिन्दा सम्पर्कविहीन रहेको उनले बताए। उहाँहरू दुवै जनाको फोन सम्पर्क हुन नसकेको उनले बताए। ‘गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुबेँसीस्थित पालिकाको कार्यालय रहेको आसपासका ६० प्रतिशत बस्ती बाढीले बगाएको छ । गाउँपालिकाको भवनसहित ६० प्रतिशत भाग बाढीले बगाइसकेको छ,’ उनले भने, ‘गाउँपालिकाकी उपाध्यक्ष प्रतिभा तामाङ र वडा नम्बर ५ का वडाध्यक्ष दावा मिङ्मार लामा दुवै जना अहिले सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरू दुवै जनाको फोन लागिरहेको छैन, स्थानीय त कति हो कति सम्पर्कमा हुनुहुन्न।’
बाढीले गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा पनि ठूलो क्षति पु¥याएको छ। तामाङका अनुसार टिमुरे क्षेत्र बाढीले पूर्ण रूपमा बगरमा परिणत भएको छ। ‘वडा नम्बर २ टिमुरेलाई बाढीले पूर्ण रूपमा बगरमा परिणत गरिदिएको छ। त्यहाँ अब मानव बस्ती नै नरहने अवस्था बनेको छ,’ उनले भने।

टिमुरेमै पर्ने रसुवागढी क्षेत्र, सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनामा समेत ठूलो क्षति पुगेको उनले जानकारी दिए। उनले भने, ‘२ नम्बर वडामै पर्ने रसुवागढी क्षेत्र, त्यहाँको सीमा पुल र रसुवागढी हाइड्रोपावरलगायतका संरचनाहरू सबै ध्वस्त भएका छन्।’

उनका अनुसार बाढी तिब्बततर्फ ल्हेन्दे खोलाको हिमताल फुटेपछि आएको हो। चीनतर्फ ल्हेन्दे खोला भनिने उक्त नदी टिमुरे आइपुगेपछि भोटेकोशीका रूपमा बग्ने उनले बताए। ‘यो बाढी तिब्बतपट्टि फुटेर बगिरहेको ल्हेन्दे खोलाको हिमताल फुटेर आएको हो। चीनको जमिनबाट बग्ने भएकाले उता यसलाई ल्हेन्दे खोला भनिन्छ र त्यो टिमुरे आइपुगेर हाम्रो जमिन टेकेपछि भोटेकोशी बन्दछ,’ उनले लालबिहानीलाई भने।

बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको छ। उनले होटल व्यवसायी, पाहुना, कामदार, पर्यटक र स्थानीयसमेत ठूलो संख्यामा प्रभावित भएको बताए। ‘होटल व्यवसायी, पाहुना, कामदार, पर्यटक र स्थानीय गरी अनगिन्ती मानिसहरू प्रभावित भएका छन् । संरचनाहरू सबै ध्वस्त भएर क्षेत्र नै बगर बनेको छ,’ उनले भने।

गोसाइँकुण्ड गाउँपालिका–१ मा समेत ५० देखि ६० जना प्रभावित भएको उनले जानकारी दिए । लगातारको वर्षाका कारण उद्धार तथा क्षतिको स्थानमा जान समेत समस्या भएको उनले बताए। मौसममा सुधार आएपछि मात्रै उद्धार टोली परिचालन गर्न सकिने उनले बताए। ‘मौसम एकदमै खराब भएकाले र अहिले पनि बेसरी पानी परिरहेकाले उद्धार र अवलोकनको काम हुन सकेन । भोलिसम्ममा मौसम सुधार भएपछि टोली परिचालन गरी उद्धार कार्य अघि बढाउने सम्भावना छ,’ तामाङले भने।

नेपाल–चीनको सीमा नाका रसुवागढीमा ठूलो क्षति पुगेको छ। चीनसँगको मुख्य नाका नै यो बाढीले ध्वस्त पारिदिएको छ। त्योभन्दा पछि तातोपानी नाका पनि बाढीले ध्वस्त पारेपछि अहिलेसम्म पनि सञ्चालनमा आउन सकेको छैन। अब चीन र नेपालको व्यापारिक नाका नै ठप्प हुने भएको छ। बाढीले रसुवाको चिलिमे जलविद्युत्लगायतका धेरै जलविद्युत् आयोजनाहरू प्रभावित भएका छन्।

नेपाल–चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सिमानामा गएको हिम–चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्र्यानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशूली नदीमा प्रवेश गरेको देखिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। यो अकल्पनीय घटनाका कारण नुवाकोट र धादिङमा पनि ठूलो क्षति भएको छ।

नुवाकोटमा १५ सय उद्धारको पर्खाइमा

बाढीबाट प्रभावित नुवाकोटमा करिब १५ सय जनालाई उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको छ। तीमध्ये कतिपय आफन्तको घरमा पुगेका छन् भने ३ सयदेखि ५ सय जनालाई सेल्टरमा राख्नुपर्ने अवस्था रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले प्रतिकूल मौसमका कारण घटनास्थलमा हेलिकप्टरबाट तत्काल पुगेर उद्धार गर्न कठिनाइ भइरहेको बताए। ‘हामीले जानकारी भएसम्म फसेका ६५ जनाको उद्धार गरेर सुरक्षित ठाउँमा राखेका छौं। उपचारको व्यवस्था पनि मिलाइसकेका छौं,’ रेग्मीले लालबिहानीलाई भने।

उनका अनुसार पिलिपिली र टीबी हस्पिटल क्षेत्रमा केही मानिस फसेको सूचना आएपछि हेलिकप्टर पठाइए पनि मौसमका कारण अवतरण गर्न नसकी फर्किएको छ। उनले भने, ‘उहाँहरूका लागि हेलिकप्टर पठाएका थियौं। तर मौसमका कारण ओर्लिन नसकी फर्कियो। भोलिसम्म मौसम अनुकूल होला र उद्धार गर्ने तयारीमा छौं।’

सुरक्षाकर्मी, हेलिकप्टर र उद्धार टोलीले दिनभर उद्धार तथा राहतको काम गरिरहेको प्रशासनले जनाएको छ। बाढीबाट भएको क्षतिको यकिन विवरण भने संकलन भइनसकेको रेग्मीले बताए । उद्धार गरिएकामध्ये ठूलो संख्यामा मानिस आफन्तको घरमा पुगेका छन्। तत्काल ३ सयदेखि ५ सय जनालाई सेल्टरमा राख्नुपर्ने अनुमान गरिएको छ। उनीहरूका लागि सेल्टर, खाना र बसोबासको प्रबन्ध भइरहेको प्रजिअ रेग्मीले बताए।

प्रजिअ रेग्मीका अनुसार, केन्द्र र प्रदेशबाट थप राहत तथा उद्धार टोली नुवाकोट पुगेका छन्। बाढीका कारण विद्युत् र टेलिफोन सेवा अवरुद्ध भएकाले सम्पर्क तथा विद्युत् सेवा यथाशीघ्र सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। नुवाकोटमा बेत्रावती, त्रिशूलीबजार, सूर्यगढी र देवीघाट क्षेत्रमा बाढीबाट बढी क्षति पुगेको छ। त्यहाँको अवस्था करुणामय छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय पनि बगाएको छ। तर, विद्यार्थी सबै सुरक्षित छन्।

धादिङमा १८ शव भेटिए

बाढीका कारण धादिङको फुर्केखोलास्थित पक्की पुल बगाएको छ। धादिङबेँसी सदरमुकामलाई पृथ्वी राजमार्ग तथा जिल्लाका विभिन्न क्षेत्र र मुख्य सहरसँग जोड्ने महत्वपूर्ण पुल बगाएपछि सदरमुकामसहित उत्तरी धादिङको यातायात र जनजीवन प्रभावित भएको छ।

बाढीले फुर्केखोला पुलसहित धादिङका विभिन्न स्थानमा पाँच वटा पक्की पुल र चार वटा झोलुंगेपुल बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) ले लालबिहानीलाई जानकारी दिइन् । उनका अनुसार गजुरीको घाटबेँसी, जहरे, गल्छीको जिन्टेटार तथा गल्छी–नुवाकोट जोड्ने पुललगायतका संरचनामा बाढीले क्षति पु¥याएको छ।

यसैबीच, बाढीपछि त्रिशूली नदीकिनारका विभिन्न स्थानमा १८ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले बताए । शवको पहिचान तथा घटनाबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

बाढीका कारण मलेखु क्षेत्रमा बालुवा चाल्ने क्रममा फसेका तीन जनाको समेत उद्धार गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए। ‘बालुवा चाल्ने क्रममा धादिङको मलेखुमा फसेका तीन जनाको उद्धार गरिएको छ। उद्धार तथा सुरक्षाका लागि तीनवटै सुरक्षा निकाय परिचालन भएका छन्,’ उनले भने। बाढीका कारण पुल तथा सडक संरचनामा क्षति पुगेपछि धादिङका विभिन्न क्षेत्रको यातायात सम्पर्क प्रभावित भएको छ। गोरखा र चितवनमा केही प्रभाव परेको छ। मुग्लिनसम्म नै बाढीले प्रभाव पारेको छ।

उद्धारमा १५ हेलिकप्टर परिचालन

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार बुधबार साँझ ६ः३० सम्म नेपाली सेनाका ७ र निजी क्षेत्रका ८ वटा गरी १५ वटा हेलिकप्टरद्वारा उद्धार कार्य भइरहेको छ।

नेपाली सेनाको हेलिकप्टरमार्फत ९७ जनाको उद्धार गरिएको छ। वीरेन्द्र अस्पतालबाट खटिएको मेडिकल टिमले त्रिशूलीस्थित नं १ सैन्य तालिम केन्द्रमा घाइतेहरूको आपत्कालीन उपचार गरेको छ। सरकारले घाइतेको उद्धारका लागि ६–७ वटा हेलिकप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तयारी अवस्थामा राखेको जानकारी दिएको छ। मौसम खराब भएका कारण केही ठाउँमा अझै पनि उद्धारका लागि हेलिकप्टर पठाउन सकिएको छैन। गृह मन्त्रालयका अनुसार, उद्धारका लागि सरकारको हटलाइन नम्बर १२३४ मा सम्पर्क गर्न सकिनेछ। सम्भव भएसम्म सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) को नम्बरमा ह्वाट्सएपमार्फत आफ्नो ‘जियो–लोकेसन’ सेयर गर्न आग्रह गरिएको छ। इन्टरनेट वा फोन नचलेको ठाउँमा हेलिकप्टरको ध्यानाकर्षण गराउन आगो बालेर धुवाँ निकाल्नेजस्ता सांकेतिक उपाय अपनाउन अनुरोध गरिएको छ।

८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन

बाढीका कारण ८५ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेका छन्। जसमा ४४ जना सेना, २८ जना नेपाल प्रहरी र १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। नेपाल प्रहरीका प्रवक्ता अविनारायण काफ्लेका अनुसार, रसुवा बाढीमा परी २८ जना नेपाल प्रहरी सम्पर्कविहीन भएका छन्। बाढी प्रभावित जिल्लाका अधिकांश प्रहरी टोली उद्धारका लागि खटिएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालको मेडिकल टिम, ड्रोनसहितको टिम स्वास्थ्य उपचारका लागि खटिएको छ। प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार, रसुवा बाढीका कारण उक्त क्षेत्रमा ड्युटीमा खटिएका १३ जना सशस्त्र प्रहरी सम्पर्कविहीन अवस्थामा छन् । जसमा रसुवामा रहेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टिमुरेका ९ जना सम्पर्कमा आएका छैनन्। उक्त बीओपीमा ३० जना कार्यरत थिए। 

यस्तै मैलुङका ३ जना सम्पर्कमा आएका छैनन्। सशस्त्र प्रहरी बल सुरक्षा बेस मैलुङमा कार्यरत १६ जनामध्ये ९ जना सम्पर्कविहीन भएका थिए। पछि ६ जना सम्पर्कमा आएका छन्। सशस्त्र प्रहरीको विपद् व्यवस्थापनको विशिष्टीकृत तालिम गरेकासहित अन्य तालिम प्राप्त ११ सयभन्दा बढी सशस्त्र प्रहरी बाढीपीडितको उद्धारका लागि परिचालन भएका छन्। सशस्त्र प्रहरी प्रवक्ता कार्कीका अनुसार, ५ जना सशस्त्रका विशेषज्ञ डाक्टरको टिमसहित १६ जनाको स्वास्थ्य टोली पनि घाइतेको उपचारका लागि परिचालन भएको छ। नुवाकोटको त्रिशूलीमा घाइतेको उपचार भइरहेको छ। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि ५ वटा ड्रोनसहितको टोली पनि परिचालन भएको छ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।