काठमाडौं,भदौ १४ : रसुवामा आएको बाढीका कारण प्रभावित भएका नागरिक तथा विदेशी पर्यटकहरूको उद्धार कार्य तीव्र पारिएको छ। नेपाली सेनाको उद्धार टोलीले भाद्र १४ गते बिहान ७:०० बजेसम्ममा हवाई तथा स्थल मार्गबाट कुल २ हजार ६ सय ९७ जनाको सकुशल उद्धार गरेको छ।
सेनाका अनुसार टिमुरे, स्याफ्रुवेशी, धुन्चे र मैलुङ इलाकाबाट हेलिकप्टरमार्फत २ हजार ४ सय ९७ जना र स्थल मार्गबाट २०० जनाको उद्धार गरिएको हो।
हवाई मार्गबाट उद्धार गरिएकाहरूमा २ सय १६ जना विदेशी नागरिक रहेका छन् । जसमा १२१ भारतीय, ७२ चिनियाँ, १५ कोरियन, ४ जर्मन, २ अमेरिकी, २ इटालियन र १ जना ओमानका नागरिक छन् । हाल बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यका लागि नेपाली सेनाका ८ हजार ३ सयभन्दा बढी फौज खटिएका छन् । यसैबीच, बाढीले पुरेको त्रिशुली ३ ‘ए’ हाइड्रोपावरको टनेल प्रवेशद्वार खोज्ने काम वर्षाका कारण प्रभावित बनेको छ ।
गएराति २ बजेपछि परेको ठूलो वर्षा र खोलामा पानीको सतह बढेर खाडल भरिएपछि रातभर जारी रहेको खोजकार्य केही समयका लागि स्थगित गरिएको छ। मौसममा सुधार आउनासाथ पुन: काम सुरु गरिने जनाइएको छ ।












