काठमाण्डौ,भदौ १७ : पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ । पछिल्लो २४ घण्टामा भएका आक्रमण र त्यसपछिका चेतावनीले यस क्षेत्रमा अस्थिरता थप बढाएको छ।
इरानको खातम अल-अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नल इब्राहिम जोल्फघारीले इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल र ड्रोन आक्रमण गरेको पुष्टि गरेका छन्। इरानले यो कदम दक्षिण इरानमा भएका अमेरिकी आक्रमणको बदलामा चालेको बताएको छ।
जोल्फघारीले दाबी गरे अनुसार यी आक्रमणहरूबाट अमेरिकी पूर्वाधार र हतियारहरूमा ठूलो क्षति पुगेको छ र उल्लेख्य संख्यामा अमेरिकी कमाण्डर तथा सैनिकहरू हताहत भएका छन् । उनले भनेका छन्, “अमेरिकाले आफ्नो अपराधप्रति पश्चात्ताप नगरेसम्म यी आक्रमणहरू जारी रहनेछन् ।” साथै, अमेरिकालाई सहयोग गर्ने जुनसुकै मुलुकले यसको भयानक परिणाम भोग्नुपर्ने चेतावनी समेत इरानले दिएको छ।
अमेरिका र इरानबीचको सिधा भिडन्तले विश्वव्यापी तेल आपूर्तिमा अवरोध पुग्ने डरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ। आज सुरुवाती कारोबारमा तेलको मूल्य झन्डै १ प्रतिशतले बढेको छ।
ब्रेन्ट क्रुड (Brent crude): प्रति ब्यारेल ८७ सेन्ट (०.९२%) ले बढेर ९५.५२ डलर पुगेको छ।अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (WTI): प्रति ब्यारेल ८० सेन्ट (०.८९%) ले बढेर ९१.०२ डलर पुगेको छ।
विज्ञहरूका अनुसार मध्यपूर्वमा तनाव कम हुने संकेत नदेखिएकाले आगामी दिनमा तेलको मूल्य अझै बढ्न सक्ने सम्भावना छ ।












