काठमाडौं,भदौ २० : बाढीले क्षतिग्रस्त २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१ आयोजनामा शुक्रबार ६ जनाको शव फेला परेको छ ।
आयोजनाको सुरुङ तथा हेडवर्क्समा हराइरहेकाहरूको खोजी क्रममा तालिमप्राप्त कुकुर समेतकाे सहायतामा ६ जनाको शव फेला परेको निजी ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जानकारी दिएको छ । सल्लेटार क्षेत्रमा भेटिएका ती ६ शव नेपाली सेनाले बट्टार ल्याएको छ ।उद्धारका लागि कोरियाली उद्धार टोली, शेर्पाहरू, सर्च, ड्रोन टिम सक्रिय रहेकाे आयोजनाले जनाएको छ । विशेष क्यामेरा र तालिमप्राप्त कुकुर पनि सोही क्षेत्रमा लगिएको छ ।
उद्धारका लागि कम्पनीले १५ वटा उद्धार मेसिन तथा उपकरण पुर्याइएको र भोलि आयोजनास्थलमा उद्धारलाई तीव्रता दिइने कम्पनीले जनाएको छ । सुरुङमा भने वाटर पम्पको कार्य जारी राखिएको छ ।
बाढी आउनुअघि माथिल्लो त्रिशूली-१ आयोजनास्थलमा कूल १ हजार ४ सय ३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८ सय ७६ जनाको उद्धार भइसकेको छ । अझै ५ सय ५१ जना सम्पर्कविहीन छन् ।
प्रर्वद्धक कम्पनी तथा निर्माण कम्पनीहरू डोसान र पावर चाइनाको व्यवस्थापन टिमले गृह सचिवलाई भेटी उद्धारका लागि थप उपकरण र मेसिन लैजानका लागि सहजीकरण गर्न आग्रह गरेको जनाएको छ ।

त्यस्तै १ सय ११ मेगावाटको रसुवागढी आयोजना स्थलमा मेसिनरी उपकरण पुर्याएर विद्युतगृहमा फसेकाहरूको उद्धार कार्य शुक्रबार पनि सुरु गर्न नसकिएको इप्पानले जानकारी दिएको छ ।
शेर्पाहरूको समूह लगेर सम्पर्कविहीन भएकाहरूको खोजी प्रयास गरिए पनि नदीमा निरन्तर बढिरहेको पानीको सतह तथा खराब मौसमका कारण मेसिनरी उपकरण आयोजना स्थलमा लगेर खोजी कार्य सुरु गर्न नसिकएको आयोजनाले जनाएको छ ।
मेसिनरी उपकरण तथा आवश्यक उपकरणह त्रिशूलीबाट धुन्चेसम्म लगिए पनि आयोजना स्थलसम्म पुर्याउन नसकिएको जनाइएको छ । धुन्चेबाट आयोजनास्थल पुगेर साँझ धुन्चे नै फर्कन समस्या हुने हुँदा शनिबारदेखि आयोजनाको सर्जट्याङ्क रहेको अग्लो स्थानमा क्याम्प बनाएर त्यहीँ बस्ने व्यवस्था गर्न लागिएको प्रवर्द्धक रसुवागढी हाइड्रोपावर कम्पनीले जनाएको छ । रसुवागढीबाट ९३ जना हराइरहेका छन् ।
अर्कातिर १० दिनसम्म पनि ३७ मेगावाटको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाबाट हराइरहेकाहरूको अवस्थाबारे थाहा हुन सकेको छैन । आयोजना स्थलमा साना मेसिनरी उपकरणबाट उत्खनन गर्दा विद्युतगृह रहेको स्थानमा खोला आइपुगेको छ ।
त्रिशूली नदीको सतहदेखि २ मिटर तलसम्म उत्खनन गर्दा समेत विद्युतगृहको संरचनाको केही नभेटिएपछि १२ मिटरसम्म खन्ने तयारी गरिएको छ । खोजी तथा उद्धार कार्यमा खटिएको सुरक्षाकर्मीले आयोजनाको सर्जट्याङ्कदेखि पेनस्टकसम्म खोजी कार्य गर्दा केही नभेटिएको जनाएको छ ।
आयोजनाको अडिट सुरुङबाट थप मेसिनरी उपकरण लैजान सकिन्छ कि भन्ने सम्बन्धमा प्रयास गरिएको जनाइएको छ । निरन्तर वर्षा तथा नदीमा पानीको सतह बढिरहेकाले ठूला मेसिनरी उपकरण आयोजना स्थल पुर्याउन कठिनाइ भइरहेको आयोजनाले जानकारी दिएको छ ।












