काठमाडौं,भदौ २१ : नेपालमा हालै आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भएका आफ्ना नागरिकको खोजीका लागि दक्षिण कोरियाले ‘कोरिया विपद् राहत टोली’परिचालन गरेको छ। काठमाडौँ आइपुगेका कोरियाली परराष्ट्रमन्त्री चो ह्युन र नेपाली समकक्षी शिशिर खनालबीच आइतबार भएको द्विपक्षीय वार्तामा कोरियाली मन्त्री चोले बाढीपहिरोले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको हो ।
कोरियाको विदेश मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा बाढीका कारण अझै ९ जना कोरियाली नागरिक सम्पर्कविहीन रहेकाले उनीहरूको खोजी तथा उद्धारमा तदारुकता देखाउन विदेशमन्त्री चोले नेपाल सरकारसँग विशेष आग्रह गरेको उल्लेख छ ।
नेपालको अनुरोधमा अत्याधुनिक खोज, उद्धार तथा फरेन्सिक उपकरणसहित कोरियाली टोली खटाइएको र नेपाली सुरक्षा निकायहरूसँगको सहकार्यमा खोजी कार्य तीव्रताका साथ भइरहेको मन्त्री चोले जानकारी दिए।












