काठमाण्डौ,भदौ २२ : मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । डेड अग्नि तथा उद्धार विभागका प्रमुख राइड जादाल्लाहका अनुसार दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले ट्रमा सेन्टरमा लगिएको छ ।
बाँकी दुई जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ। विमानले ठक्कर दिएका केही सवारीसाधनभित्र मानिसहरू फसेकाले उद्धार टोलीले उनीहरूलाई बाहिर निकालेको थियो ।
पोर्टो रिकोको सान जुआनबाट मियामी आएको ३२ वर्ष पुरानो बोइङ–७६७ विमान दुर्घटनामा परेको हो । २१ एयरले सञ्चालन गरिरहेको उक्त विमानले अमेजनका लागि कार्गो उडान गर्दै आएको थियो ।
विमान धावनमार्गबाट बाहिरिँदा करिब १३० माइल प्रतिघण्टाको गतिमा रहेको फ्लाइट ट्र्याकिङ तथ्याङ्कले देखाएको छ। विमान समयमै किन रोकिएन भन्नेबारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन । दुर्घटनाअघि चालक दलले कुनै आपत्कालीन सूचना नदिएको हवाई ट्राफिक नियन्त्रणको अडियो समीक्षाबाट देखिएको छ ।
दुर्घटनापछि विमानस्थलमा केही समयका लागि उडानमा रोक लगाइएको थियो । क्षतिग्रस्त विमान धावनमार्गमै रहेका कारण सोमबारसम्म उडानहरू प्रभावित हुने बताइएको छ।












