काठमाडौं,असौज ६ : काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी गम्भीर घाइते भएका चालकको मृत्यु भएको छ। कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा गएराति उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।
सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागि हुनु अगाडि आफूले गल्ती नगरेपनि कारबाही गर्न खोजिएको भन्दै ट्राफिक प्रहरीसँग विवाद भएको भिडियो सार्वजनिक भएको थियो ।
अस्पतालका अनुसार चालकको शरीरको ९० प्रतिशत भाग जलेको थियो। प्रहरीले सुरुमा दावा लामा भनेपनि चालकको परिचय खुल्न बाँकी रहेको जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैंले बसमा आगो लगाएको निष्कर्ष छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले छुट्टाछुट्टै छानबिन समेत अघि बढाएको छ।
सोमबार बिहान १० बजेतिर बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातको बस त्रिपुरेश्वर बस बिसौनीमा आइपुगेर रोकियो । चालकले बस अगाडि बढाउने तयारीमा थिए । गाडीअगाडि एउटा मोटरसाइकल उभिएपछि उनले हर्न बजाउँछन्।
पछाडिबाट निरन्तर आउने अन्य सवारी साधनका कारण त्रिपुरेश्वर चोकमा सवारीको चाप र ट्राफिक जाम बढिसकेको थियो । ड्युटीमा रहेका ट्राफिक प्रहरीले नजिकै आएर सवारी रोकेको र हर्न बजाएको विषयमा प्रश्न उठाउँछन् । विवाद यहीँबाट सुरु हुन्छ । मूलपानी–थानकोट रुटको गाडीका चालक काभ्रेपलाञ्चोकको पनौती निवासी २३ वर्षीय चालक दावा लामासँग अब चर्काचर्की सुरु हुन्छ। ‘मेरो अगाडि मोटरसाइकल भएकाले गाडी रोकिएको’ जवाफ दिए पनि ट्राफिक प्रहरीले चित्त बुझाउँदैनन्। थप चाप बढ्न थालेपछि दुवैतर्फको विवाद उग्र बन्दै गएको भिडियो संवादमा देखिन्छ।
भीडभाडका बीच एउटा बसको हर्न बजाएको विषयलाई लिएर सुरु भएको सामान्य भनाभन केहीबेरमै चालकको तीव्र आक्रोशमा परिणत भयो । ट्राफिक प्रहरीले हर्न निषेधित क्षेत्रमा हर्न बजाएको भन्दै कारबाही गर्न खोजेपछि चालकले आफ्नो कुनै गल्ती नभएको र अनावश्यक दुःख दिइएको भन्दै भिडियोमा कडा प्रतिवाद गरेको देखिन्छ ।

लगत्तै उनले बस मालिक लव केसीलाई फोन गरेर आफूलाई ट्राफिक प्रहरीले ‘ह्यारेसमेन्ट’ गरेको गुनासोमात्र गरेनन्, बग्गीखाना पठाइए आत्महत्या गर्नेसम्मको चेतावनी दिए । ‘आज ट्राफिकले मलाई बग्गीखाना पठाउने भए अहिले मेरो लास हुन्छ,’ चालकले फोनमा भनेको बस मालिक केसीले जानकारी दिएका छन् ।
चालकबाट यस्तो गम्भीर कुरा सुनेपछि बस मालिक केसीले स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै तत्काल सम्बन्धित डीएसपीलाई फोन गरेर जानकारी गराए । आफ्नो चालकले आत्महत्याको कुरा गरिरहेकाले तुरुन्तै त्रिपुरेश्वरमा सुरक्षा निकाय पठाइदिन उनले आग्रह गरे । त्यसपछि उनले १०३ मा समेत फोन गरेर घटनाबारे जानकारी गराएको दाबी गरेका छन् । तर, सुरक्षा सतर्कताका लागि जानकारी गराएको करिब २५–३० मिनेटकै अवधिमा त्रिपुरेश्वरमा चालकले आफू सवार बसभित्र प्रज्ज्वलनशील पदार्थ छर्केर आफैंलाई र बसलाई आगो लगाए । घटनाको सूचना पाउनासाथ १२ः१९ बजे दमकल खटाइएको थियो । १२ः२७ बजे घटनास्थल पुगेको दमकलले १२ः३८ बजेसम्ममा आगलागी पूर्णरूपमा नियन्त्रणमा लिएको थियो। आगलागीबाट बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ भने गम्भीर घाइते चालकको उद्धार गरी कीर्तिपुरस्थित बर्न अस्पताल पठाइएको छ ।
सार्वजनिक भएको भिडियो सामग्रीमा बसभित्रै रहेका चालक र बाहिर रहेका सुरक्षाकर्मीहरूबीच भएको तनावपूर्ण संवाद सुनिन्छ। चालकले आक्रोशित र भावुक हुँदै भनेका छन्, ‘म काम गर्ने मान्छे, म मर्न तयार छु। यसलाई छोड्दिनँ। माँ कसम जेसुकै गर छोड्दिनँ। मेरो गल्ती केही छैन।’ बसभित्र आगो लगाउन उद्यत रहेका चालकलाई बाहिरबाट सशस्त्र प्रहरीले सम्झाउँदै ‘तल झर्नुस्’ भनेका थिए। त्यतिबेलै ट्राफिक प्रहरीले केही बोलेपछि चालकले थप आक्रोशित हुँदै ‘हान्नु न त हान्नु… ए दाइ, मैले उहाँहरूलाई यति रेस्पेक्ट गरेँ, यसको भिडियो छ के दाइ… मैले माफी धेरै मागेँ’ भन्दै आफ्नो असन्तुष्टि पोखेका थिए।
ऋद्धिसिद्धि यातायातका सञ्चालक तथा बस मालिक लव केसीका अनुसार घटनाको मुख्य सुरुवात बिहान करिब १० बजे त्रिपुरेश्वर चोकमा थापाथली पोस्टका ट्राफिक प्रहरी र चालकबीच हर्नको विषयमा भएको विवादबाटै भएको हो। ट्राफिक प्रहरीले कारबाही गर्न खोज्दा चालकले आफ्नो गल्ती नभएको भन्दै प्रतिवाद गरेका थिए। त्यसपछि केही समय चालकलाई ट्राफिक प्रहरीको नियन्त्रणमा राखिएको र आफूलाई अनावश्यक दुःख दिइएको गुनासो चालकले गरेका थिए ।
त्यसैबीच करिब ११ देखि ११:३० बजेतिर एक डीएसपीले केसीलाई फोन गरी बसले बाटो अवरोध गरेको र चालकलाई बग्गीखाना पठाउनुपर्ने बताएका थिए। डीएसपीको फोनपछि केसीले चालकलाई सम्पर्क गर्दा चालकले मानसिक तनावमा रहेर आत्महत्याको चेतावनी दिएका थिए ।












