२०८३ आश्विन ७ बुधबार
Search
२०८३ आश्विन ७ बुधबार

पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्दै फ्लाई दुबई

 

काठमाण्डौ,असोज ७ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधबारदेखि अन्तरदेशीय उडान सुरु हुँदैछ। फ्लाई दुबईले दुबई–पोखरा, पोखरा–दुबई दैनिक नियमित व्यावसायिक उडान सेवा सुरु गर्न लागेको हो । 

बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ। बुधबार साँझ नै जहाजले पोखराबाट प्यासेन्जर लिएर दुबईका लागि उडान भर्नेछ।  पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसायी उत्साहित छन् । यसअघि चीनका केही सहरमा सातामा एक पटक व्यावसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । 

यसभन्दा अघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सले सन् २०२५ को मार्चदेखि सन् २०२६ को मार्च २३ सम्म सातामा एक पटक चीनमा व्यावसायिक उडान गरेको थियो । यात्रु अभावका कारण अहिले स्थगन गरेको छ। यसैगरी सिचुवान एयरलाइन्सले पोखराबाट चीनमा ६ महिना चार्टर उडान गरेको थियो । यसले पनि यात्रुको अभावमै नियमित उडान गर्न सकेको थिएन । सिचुवान एयरलाइन्सले छेन्दु पोखरा २६ वटा मुभ्मेन्ट गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ निरौलाले लालबिहानीलाई बताए । 

हिमालयन एयरलाइन्सले ५२ वटा डिपार्चर र ५२ वटा एराइभल गरेर १ सय ४ वटा मोभ्भेन्ट सञ्चालन गरेको पनि उनले सुनाए । हिमालयनले ल्हासा–पोखरा, पोखरा–ल्हासा उडान गरेको थियो। भुटान एयरलाइन्स र ड्रक एयरलाइन्सले पोखरा–भुटान चार्टर उडान गरेको थियो ।  फ्लाई दुबईले उडान भर्ने भएपछि फ्लाइट क्याटरिङ पोखराको सोल्टी होटलले गर्दैछ। 

अन्तर्राष्ट्रिय उडान भए पनि अन्तर्राष्ट्रिय उडान भएबापत लिनुपर्ने शुल्क २०८५ को भदौसम्म पूर्णरूपमा छुट रहेको छ। यसैले अन्तर्राष्ट्रिय उडानतर्फको आम्दानी भने शून्यकै अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख निरौलाले बताए। आन्तरिक वायु सेवा कम्पनीबाट लिनु पर्ने शुल्कबाट पोखरा विमानस्थलले गएको आर्थिक वर्ष २०८१/८२ मा ३५ र अघिल्लो वर्षमा जेन–जी आन्दोलन र हवाई इन्धनको मूल्यवृद्धिको कारण घटेर ३४ करोड रुपैयाँ आम्दानी भएको विमानस्थलले जनाएको छ।  यसअघिको पोखराको पुरानो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहँदा १० देखि ११ करोड रुपैयाँ आम्दानी हुने पनि उनले बताए ।  

पहिलो पटक आजदेखि दुबई–पोखरा, पोखरा–दुबई  नियमित व्यावसायिक उडान सुरु गरेपछि यसले निरन्तरता पाउने र पर्यटक आगमनमा वृद्धि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । फ्लाई दुबईको जहाजबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलियालगायतका देशमा कनेक्टिङ फ्लाइटबाट जान सकिने भएकोले पनि उडान नियमित हुने विश्वास पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठको छ ।  

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएसँगै यहाँका पर्यटकीय पूर्वाधारमा तीन अर्ब रुपैयाँ बढीको लगानी थपिएको भए पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन व्यवसायी चिन्तित थिए । पदयात्रा पर्यटनका लागि विश्वमा चिनिएको अन्नपूर्ण, धौलागिरि, मनास्लु पदयात्राको गेट वेसमेत रहेको पोखरामा विभिन्न देशबाट सोझै आउन चाहने पर्यटक धेरै रहेकोले उडान सुरुसँगै उत्साह थपिएको टान गण्डकीका अध्यक्ष 
कृष्ण आचार्य बताउँछन्। 

फ्लाई दुबईले १ सय २० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको छ। पोखरा दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीच रणनीतिक कोडसेयर साझेदारीअन्तर्गत पोखरा दुबई उडान सेवा सञ्चालन हुन लागेको हो। अन्तर्राष्ट्रिय उडानलाई दिगो तुल्याउन बजारीकरण तथा प्रवर्द्धनमा सरकारी निकाय र निजी क्षेत्रबाट पहल हुँदै आएको होटल संघ नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताए। 

वैदेशिक रोजगारी, अध्ययन, घुमफिर आदिका लागि अरब मुलुकसहित अन्य देशमा जाने यात्रु तथा सर्वसाधारणका लागि यो उडान लाभदायी हुनेछ। यस उडानले अन्तर्राष्ट्रिय यात्राका लागि काठमाडौं नै जानुपर्ने बाध्यतालाई केहीहदसम्म टार्नेछ। पोखरा दुबई उडानबाट हिमालको काखका रहेको पोखरामा सिधै आउन सक्छन्। यसले केन्द्रीकृत रहेको हवाई चापलाई विकेन्द्रीकरणसँगै पर्यटन प्रवद्र्धनसमेत हुनेछ। 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।