भालुबाङ्ग असोज ७ : दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ विमानस्थल विस्तारका लागि संघीय सरकारले करिब २५ करोड रुपैयाँ बजेट विनियोजन गरेसँगै काम अघि बढ्ने आशा पलाएको छ ।
२०११ सालमा सञ्चालनमा आएको टरिगाउँ विमानस्थल सुरुवातमा जति क्षेत्रफलमा थियो, त्यसयता उल्लेख्य रूपमा विस्तार हुन सकेको छैन । हाल विमानस्थलको धावनमार्ग ७५० मिटर लामो छ । धावनमार्ग छोटो भएकै कारण यहाँ ठुला क्षमताका विमान अवतरण गर्न सक्दैनन् ।

भुसालका अनुसार विमानस्थलका लागि थप जग्गा आवश्यक पर्ने भएकाले विस्तारका क्रममा सरकारीसँगै केही निजी जग्गासमेत अधिग्रहण गर्नुपर्ने हुन सक्छ । त्यसका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने उनको भनाइ छ ।
‘विगतमा एक–दुई करोड रुपैयाँमात्रै बजेट आउने गरेको थियो । साना–साना काम गर्दागर्दै बजेट सकिन्थ्यो,’ भुसालले भने, ‘अहिले धेरै बजेट आएकाले जग्गा प्राप्ति तथा विस्तारका अन्य काम अघि बढाउन सकिने अवस्था बनेको छ ।’हाल टरिगाउँ विमानस्थलमा १९ सिट क्षमताका ट्विनअटर विमानमात्रै सञ्चालन गर्न सकिने अवस्था छ । धावनमार्ग छोटो भएकाले त्यसभन्दा ठुला विमान सञ्चालन हुन सक्दैनन् । तुलसीपुर उपमहानगरपालिकाका बासिन्दा तथा लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. नहकुल केसीले विमानस्थल विस्तारको प्रक्रिया अब ढिला नगरी अघि बढाउनुपर्ने बताए । ‘पुरानो विमानस्थल भए पनि विस्तार हुन नसक्दा अहिले १९ सिट क्षमताका विमानमात्रै सञ्चालन गर्न सकिने अवस्था छ,’ उनले भने, ‘साना विमानले थोरै यात्री लिएर उड्नु पर्दा लागत बढ्ने भएकाले भाडादर पनि महँगो हुने भयो । त्यसैले यहाँ नियमित उडानसमेत प्रभावित हुँदै आएको छ ।’
उनले लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा रहेको तुलसीपुर विमानस्थललाई विस्तार गरी नियमित हवाई सेवा सञ्चालन गर्ने वातावरण बनाउन संघ, प्रदेश र स्थानीय तहबिच समन्वय आवश्यक रहेको बताए ।

‘तुलसीपुरमा नियमित विमान सेवा सञ्चालन भए त्यसको लाभ दाङसँगै रोल्पा, रुकुम र प्युठानसम्मका नागरिकले लिन सक्छन्,’ केसीले भने, ‘त्यसैले विमानस्थल विस्तारलाई तीनै तहका सरकारले गम्भीरतापूर्वक लिन आवश्यक छ ।’
तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले विमानस्थल विस्तारका लागि नगरपालिकाले निरन्तर लबिङसँगै आवश्यक सहयोग गर्दै आएको बताए ।
उनका अनुसार संघीय सरकारले बजेट विनियोजन गर्नु सकारात्मक भए पनि बजेट कार्यान्वयनसँगै आवश्यक थप बजेटका लागि समेत पहल गर्नुपर्ने आवश्यकता छ ।
विमानस्थल विस्तार भएपछि तुलसीपुरबाट ठुला विमान सञ्चालन गर्न सकिने र दाङसहित आसपासका जिल्लाका नागरिकलाई समेत हवाई सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमको उडान तालिका छ, तर तालिकाअनुसार नियमित उडान हुन नसक्दा विमानस्थल सञ्चालनमै प्रश्न उठ्न थालेको छ । उडान तालिका भए पनि पर्याप्त यात्रु नपाउने र मौसम प्रतिकूल हुने कारण देखाउँदै उडान प्रभावित हुँदै आएको छ ।
नेपाल एयरलाइन्सका तुलसीपुर शाखा प्रमुख बलबहादुर सुनारका अनुसार तुलसीपुर–काठमाडौँ उडानका लागि आइतबार, मंगलबार, बिहीबार र शुक्रबार गरी सातामा चार दिनको तालिका छ । तर, तालिका भए पनि नियमित रूपमा उडान सञ्चालन हुन सकेको छैन ।
‘कहिले यात्रु नपुगेर समस्या हुन्छ, कहिले मौसमले साथ दिँदैन,’ शाखा प्रमुख सुनारले भने, ‘त्यसैले तालिकाअनुसार नियमित उडान हुन सकेको छैन ।’












