नारायाणगाढ, असौज १० : लगातारको वर्षासँगै धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा ढुंगा तथा लेदो खस्दा पृथ्वी राजमार्गको आवागमन प्रभावित भएको छ । माथिल्लो भागबाट ढुंगा र लेदो खस्ने क्रम नरोकिएपछि सडक खुलाउने कामसमेत जोखिमपूर्ण बनेको छ ।
भदौ १० गतेको बाढीले सडक कटान गरी भासिएपछि नयाँ डाइभर्सन निर्माण गरेर सञ्चालनमा ल्याइएको कृष्णभीरमा पुनः पहिरोको जोखिम देखिएको हो । डाइभर्सनलाई टेवा दिइरहेको तल्लो भागको ग्याभिन वालको एउटा सेक्सनमा समेत क्षति पुगेको छ ।
नागढुंगा-मुग्लिन सडक आयोजनाकी पश्चिमी खण्ड प्रमुख सञ्जना अधिकारीका अनुसार कृष्णभीरमा सडक नै पूर्ण रूपमा अवरुद्ध हुने गरी ठूलो पहिरो गएको अवस्था भने छैन । तल्लो स्ट्रिमतर्फको ग्याभिन वालको बीचको एउटा सेक्सन खसेको र माथिल्लो भागबाट केही लेदो झरेको उनले बताइन् ।
‘कृष्णभीरमा सवारी चलाउन नमिल्ने गरी ठूलो पहिरो गएको अवस्था छैन । तर पानी परिरहेको र जोखिम कायम रहेकाले तत्काल सफा गर्न केही समय लाग्न सक्छ,’ अधिकारीले भनिन्, ‘थप पहिरो नखसेमा दुईदेखि चार घण्टामा सडक सफा गर्न सकिने अवस्था छ।’
पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–३ शीतलबजार क्षेत्रमा पनि पानीसँगै पहिरो तथा लेदो खसेको छ।
यसैबीच धादिङको बेनीघाट रोराङ गाउँपालिका-२ मा खानीखोलामा आएको बाढीले बगाउँदा अन्दाजी ५५ वर्षीया सुकुमाया चेपाङको मृत्यु भएको छ। ताल्तीबाट घरतर्फ जाने क्रममा खानीखोलामा आएको बाढीमा परेकी चेपाङलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि मलेखुस्थित टिचिङ अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डीएसपी प्रकाश दाहालले बताए।
लगातारको वर्षाका कारण खानीखोलालगायत स्थानीय खोलामा पानीको बहाव बढेकाले ग्रामीण क्षेत्रमा आवतजावतसमेत जोखिमपूर्ण बनेको छ। प्रहरीले खोला तथा नदी पार गर्दा विशेष सावधानी अपनाउन स्थानीयलाई आग्रह गरेको छ।












