बुटवल असौज ११ : तीन दिनदेखि जारी अविरल वर्षाका कारण पाल्पामा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलाल भट्टराईका अनुसार पहिरोमा पुरिएर माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरेकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। रिब्दीकोट–६ ठिमुरेमा घर पुरिएर बेपत्ता भएकी सारुको खोजी गर्ने क्रममा शव फेला परेको हो भने चिदीको आफ्नै घरमाथिबाट खसेको पहिरोले पुरिएर ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैगरी माथागढी गाउँपालिका–३ कसेनीमा आइतबार बिहान करिब ५ बजेतिर घरमाथिबाट पहिरो खस्दा लीलबहादुर घर्तीमगरको घर पूर्ण रूपमा पुरिएको छ। पहिरो जाँदा घरभित्र सुतिरहेका घरधनी लीलबहादुर घर्ती, झरना घर्ती र दिना घर्ती बेपत्ता भएको स्थानीय वडाध्यक्ष तेजबहादुर घर्तीमगरले जानकारी दिए। बेपत्ताहरूको खोजी कार्य जारी छ। बाढी र पहिरोका कारण विद्युत् सेवा अवरुद्ध हुँदा जिल्लाका अधिकांश स्थानमा सञ्चार सम्पर्क विच्छेद भएको छ ।
‘प्रेमको प्रतीक’ मानिने पर्यटकीय स्थल रानीमहल क्षेत्रसमेत डुबानमा परेको छ। कालीगण्डकी नदीमा आएको बाढी रानीमहल परिसरमा पस्दा त्यहाँ सञ्चालित दर्जनौँ होटेल तथा रेस्टुरेन्टहरू डुबानमा परेका छन् ।
पहिरोका कारण जिल्लाका विभिन्न बस्तीहरू उच्च जोखिममा परेका छन्। माथागढी गाउँपालिका–४, झडेवाको देउगीर क्षेत्रमा जमिन चिरिएपछि दर्जनौँ घरपरिवार विस्थापित हुने अवस्थामा पुगेका छन् ।












