नारायणगढ असौज १५ : चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ। सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।
असोज २० गतेभित्रै बत्ती बालेर केही चोकमा लाइट सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि लगातारको वर्षाका कारण उच्च भोल्टेज (हाइटेन्सन) लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको छ। यद्यपि, मौसममा सुधार आएसँगै दसैँअघि नै ६ वटै चोकका बत्ती पूर्ण रूपमा बालेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धीरज राउतका अनुसार कुल ६२ देखि ६६ वटा पोलहरूमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढीमा काम सम्पन्न भइसकेको छ। नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा भने चाँडै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी छ।












