काठमाण्डौ,असौज १७: नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ, भने १० जना घाइते भएका छन् ।
नेपालगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस बिहान करिब ०४:०० बजे अनियन्त्रित भई सडकको नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले लालबिहानीलाई जानकारी दिए ।

उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस पूर्वी नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोड नजिकै पूर्व–पश्चिम राजमार्गमा ब्रेक फेल भएर आज बिहान दुर्घटनामा परेकाे हाे ।
दुर्घटनामा जाजरकोट भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दिपेन्द्र केसी, बाजुरा स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी, बाँके कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको छ।
नामथर र ठेगाना नखुलेका करिब ४०/४२ वर्षीय एक पुरुषको घटनास्थलमै मृत्यु भएको डिएसपी थापाले जानकारी दिए।
दुर्घटनापछि बसमा च्यापिएका चार जनालाई दुईवटा क्रेनको सहयोगमा बिहान ६:१५ बजे उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा पठाइएको डिएसपी थापाले जानकारी दिए।












