काठमाण्डौ,असौज १८ : पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जंगलमा दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ (बाँदर वारपार गर्ने आकासे झोलुंगे पुल) निर्माण गरिने भएको छ ।
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरुणखोला बीचको जंगलमा दुईवटा ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्ने तयारी भइरहेको छ ।
नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दै गएपछि बाँदरलाई बाटो काट्नका लागि ओभरहेड क्यानोपी ब्रिज निर्माण गर्न लागिएको हो ।
‘पहाडी क्षेत्रबाट तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दै गएको छ,’ सूचना अधिकारी खनालले भने, ‘राजमार्गमा बाँदरहरूले बाटो काट्दा हुने दुर्घटनाबाट मानिसको समेत मृत्यु भएकाले दुर्घटना न्यूनीकरणका लागि यो पुल निर्माण गर्न लागिएको हो ।’
पूर्वपश्चिम राजमार्गको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । गैँडाकोट–१० स्थित पितौँजी जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाट्टफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको उनले लालबिहानीलाई बताए ।
‘ओभरहेड क्यानोपी ब्रिजको प्रभावकारिता अहिल्यै जाँच गर्ने बेला भएको छैन,’ सूचना अधिकारी खनालले भने, ‘बाँदरलगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउँदै पुललाई उपयोगी बनाउन सुरुका केही दिनमा फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्छ, हामी त्यसको तयारीमा पनि जुटेका छौँ ।’ निर्माण सकिएको आभेरहेड क्यानोपी ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने तयारी गरिएको उनको भनाइ छ ।












