२०८३ कार्तिक १३ बिहीबार
Search
२०८३ कार्तिक १३ बिहीबार

कपडा महँगिएको गुनासो, व्यापारी भन्छन्- ढुवानी भाडा दोब्बर पर्‍यो

 
काठकमाण्डौ, असौज २० :  अबको  चार दिनपछि घटस्थापना छ । घटस्थापनाका दिनदेखि दसैं सुरु हुन्छ । विगतका वर्षहरूमा झैं अहिले पनि काठमाडौंका नयाँ बानेश्वर, न्युरोड, असन र भृकुटीमण्डप जस्ता बजारमा किनमेलका लागि चहलपहल सुरु भइसकेको छ ।

दसैंका लागि भनेर यही एक सातामा कपडा, जुत्ताचप्पल, ब्याग लगायत सामान उपभोक्ताले किन्न थाल्छन् । तर, यस वर्ष बजारमा चहलपहल त छ, तर व्यापारी र उपभोक्ता दुवैको अनुहारमा खासै खुसीको भाव भने छैन ।अघिल्लो महिना १० भदौमा रसुवामा आएको बाढीले चीनतर्फका नाकामा पुर्‍याएको क्षति र ढुवानीमा भएको अचाक्ली मूल्यवृद्धिको प्रत्यक्ष असर यतिबेला सडक पेटीदेखि ठूला सपिङ कम्प्लेक्ससम्म देखिएको छ ।

शान्तिनगरकी सीता घिमिरे आइतबार साँझ नयाँ बानेश्वरको खुला बजारमा आफ्ना १० वर्षका छोरा र ७ वर्षकी छोरीका लागि दसैंको कपडा छान्दै थिइन् ।

दुई/चार वटा पसल चहारेपछि पनि उनले आफूले खोजेजस्तो कपडा भेट्टाउन नसकेको गुनासो गरिन् ।

‘पोहोर सालको तुलनामा कपडाको भाउ पनि महँगिएको रहेछ,’ उनले भनिन्, ‘अघिल्लो दसैंमा छोराका लागि पाइन्ट र टिसर्ट १५ सयमै किनेकी थिएँ, अहिले त एक सेटलाई २२–२५ सय भन्छन्, छोरीको कुर्ता सुरुवालको भाउ पनि उस्तै छोइसक्नु छैन, महँगीले गर्दा यसपालि केटाकेटीलाई लुगा किनिदिनै गाह्रो भयो ।’

सोही बजारमा कुर्ता सुरुवाल, पाइन्ट र जुत्ताचप्पल किन्न आइपुगेकी सुमी थापालाई पनि अघिल्लो वर्षको तुलनामा यो वर्ष सामान महँगो लाग्यो ।

‘अघिल्लो वर्ष पनि मैले यहीँबाट बहिनी र आफूलाई कपडा किनेर लगेकी थिएँ, त्यसबेला १ हजारमै किनेको पाइन्टलाई त अहिले धेरै बार्गेनिङ गरेर पनि १४ सय पर्‍यो,’ उनले सुनाइन्, ‘अझै आमालाई कुर्ता सेट किन्नुपर्ने छ, त्यसमा पनि बढेर आएको छ भन्छन् व्यापारी, त्यस हिसाबले अहिले कम खर्चमा लुगा किन्न सकिएला जस्तो छैन ।’

नयाँ लुगा लगाएर दसैं मनाउने नेपालीको परम्परा सहज बनाइरहेको चिनियाँ कपडा महँगो हुँदा अहिले सीता र सुमीजस्ता हजारौं ग्राहक र व्यापारी दुवै मर्कामा परेका छन् ।

नयाँ बानेश्वरमै तीन वर्षदेखि खुला बजारमा लत्ताकपडा व्यापार गर्दै आएका गौतम साह पसलमा सोधपुछ भए पनि व्यापार खासै नभएको बताउँछन् ।

‘पोहोर सालको तुलनामा यसपालि ग्राहकको चाप नै छैन, मान्छे आउँछन्, भाउ सोध्छन् अनि महँगो भयो भन्दै फर्किन्छन्,’ उनले भने, ‘यसपालि चाडबाड मनाउन धेरैलाई जाँगर चलेजस्तो पनि देखिएन, देशमा यति ठूलो विपत्ति पनि आइलाग्यो ।’

होलसेलमै सामानको मूल्य बढेर आएका कारण आफूहरूले पनि भाउ बढाउनु परेको साहको भनाइ छ । ‘सस्तो सामानमा २५ देखि ५० रुपैयाँ र अलि महँगो सामानमा १०० देखि २०० रुपैयाँसम्म त होलसेलमै बढेर आएको छ,’ साहले गुनासो पोखे, ‘अनि, हामीले पनि थोरै नाफा त राख्नै पर्‍यो नि !’

कुर्ता सेट भारतबाट आउँछन् । व्यापारीका अनुसार भारतबाट आउने लुगा यसै पनि महँगो नै हुन्छ । यसपालि बाटोले झन घिउ थप्ने काम गरेको उनीहरूको गुनासो छ ।

अर्का व्यापारी विनोद ओलीको अनुभव पनि गौतमको भन्दा फरक छैन । कुर्ता सेट, टप्स लगायत कपडा व्यापार गर्ने उनका अनुसार बजारमा चिनियाँ सामान अभाव छ र जे जति सामान आएका छन्, तिनको मूल्य अचाक्ली बढेको छ ।

होलसेलबाटै महँगोमा सामान किन्नुपरेपछि ग्राहकलाई चित्त बुझाउन निकै गाह्रो भएको ओली बताउँछन् ।

 

Picture of लाल बिहानी

लाल बिहानी

सह सम्पादक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।