काठमाडौं , असोज ३१: यसपालि त्रैमासको अन्तिम (असोज महिनाको अन्तिम) र वडा दसैं नजिकिएको सातामा सेयर बजारले लगानीकर्तालाई खुसी बनाएको छ। अघिल्ला त्रैमासहरूको अन्तिममा सेयर बजार घट्ने गरेको थियो। त्यस्तै चाडवाड आएसँगै सेयर बिक्रीको चापले मूल्यमा दबाब पर्ने गरेको थियो। यसपालि भने सेयर बजार बढेको छ, कारोबारमा वृद्धि र कुल बजार पुँजीकरणमा बढोत्तरी भएको छ।
असोजको अन्तिम सातामा पाँच दिन कारोबार भएकोमा नेप्से पाँचैदिन बढ्यो। अघिल्लो साता भने पाँच दिन कारोबार भएकोमा नेप्से तीन दिन बढेर दुई दिन घटेको थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २५९१.८० अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले बढ्यो। त्यसदिन नेप्से ४ अंकले बढेर २५९५.८१ विन्दुमा पुग्यो। त्यसपछि पनि नेप्से लगातार बढ्यो। मंगलबार नेप्से ४.१२ अंक, बुधबार २१.३२ अंक र बिहीबार ४.६७ अंकले बढ्यो। साताको अन्तिम कारोबारको दिन शुक्रबार ८.२३ अंकले बढेर नेप्से २६२२.७८ विन्दुमा पुगेर बन्द भयोे। साता भरको कारोबारमा नेप्से ४२.३७ अंकले बढोत्तरी भयो।
यस साता सबैभन्दा कम सेयर कारोबार बुधबार ४ अर्ब १३ करोड ८१ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब ८८ करोड रुपैयाँको भयो । साताभरिमा पाँच दिनको कारोबारमा २२ अर्ब ९३ करोड ५२ लाख रुपैयाँको सेयर खरिदविक्री भएको थियो। यसबाट औसतमा दैनिक ४ अर्ब ५८ करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता भने १८ अर्ब ९३ करोड ३८ लाखको कारोबार हुँदा औसतमा दैनिक ३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २१.१३ प्रतिशतले बढेको देखाउँछ।












