२९ जेठ, २०८२ | परासी । पश्चिम नवलपरासी — पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका–४ र सरावल गाउँपालिका–७ बरगदवाबीचको पचफेडा खोलामा पक्की पुल निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। खोलामा अहिले सम्म यातायातको सुविधा नहुँदा स्थानीयवासीलाई वर्षायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता रहेको थियो। खोलामा पानीको सतह बढेपछि मुल सडकसँग सम्पर्क नै विच्छेद हुने समस्याले गर्दा सर्वसाधारणको दैनन्दिन जीवन प्रभावित हुँदै आएको थियो।
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादव का अनुसार यो पुल निर्माणको काम आफुले चुनावी घोषणापत्रमा गरेको प्रतिबद्धताको महत्वपूर्ण अंश हो। “जनतासँग गरिएका वाचा पूरा गर्दै जनजीवनमा सहजता ल्याउने हाम्रो प्राथमिकता हो,” अध्यक्ष यादवले बताए। पुल निर्माणको जिम्मा ईश्वर त्रिरतन जेभी नामक निर्माण कम्पनीले लिएको छ। पुलको लम्बाइ १५ मिटर रहेको छ भने निर्माण लागत १ करोड ४० लाख रुपैयाँ रहनेछ। २०८३ जेठ मसान्तभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले यो पुल निर्माणपछि प्रतापपुर र सरावलबीचको आवागमन सहज हुने विश्वास व्यक्त गरेका छन्। यसले ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि, शिक्षामा पहुँच र स्वास्थ्य सेवा प्राप्तिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पक्की पुल बनेपछि सडक सञ्जालमा प्रत्यक्ष जोडिने सरावलका गाउँहरूलाई राहत मिल्नेछ। विगतमा सानो झोलुंगे पुल वा गहिरो खोला तर्ने साधन प्रयोग गर्दा पटक–पटक दुर्घटनाका घटनाहरू समेत भइसकेको स्थानीयले बताएका छन्।








