२९ जेठ २०८२, चितवन | पृथ्वी राजमार्ग अन्तर्गत पर्ने मुग्लिन–मलेखु सडकखण्डमा रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नतिको काम सुरु हुने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार जेठ ३० गतेदेखि असार ७ गतेसम्म राति १०:३० बजेदेखि बिहान ३:०० बजेसम्म सवारी साधन पूर्ण रूपमा बन्द गरिनेछ।
सडकखण्डको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवारी बन्दको व्यवस्था मिलाइएको हो। उक्त कार्यमा भारी क्रेन प्रयोग गर्नु पर्ने भएकाले सुरक्षा र कार्यसम्पादनको दृष्टिले राति यातायात रोक्ने निर्णय लिइएको हो। नेपालका अनुसार, मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखुमै रोकिने छन् भने हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन्। त्यसैगरी, मुग्लिनतर्फ जाने भारी गाडी मुग्लिनमा र हलुका गाडी कुरिनटारमा रोकिनेछन्।
बिहान ३:०० बजेपछि मात्रै रोकिएका सवारीहरूलाई अगाडि बढ्न दिइनेछ। अत्यावश्यक सेवाका सवारीसाधनलाई भने विशेष अनुमति दिइने जानकारी आयोजनाले दिएको छ। स्थानीय प्रशासन र ट्राफिक प्रहरीले यात्रुहरूलाई पूर्वतयारीसहित वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। यात्रुहरूलाई असुविधा कम गर्न विभिन्न स्थानमा सवारीस्थल, सूचना बोर्ड र जनशक्ति परिचालन गरिने छ।








