२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

वैदेशिक व्यापार १८.८ प्रतिशतले बढ्यो, व्यापार घाटा झनै बढ्दै

काठमाडौं, असार ७ ।  नेपालको वैदेशिक व्यापार चालू आर्थिक वर्ष ०८१/८२ को ११ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यद्यपि व्यापार वृद्धि भए पनि आयातको तुलनामा निर्यातको हिस्सा अझै न्यून रहँदा व्यापार घाटा गहिरिँदै गएको छ। गत वर्षको पहिलो ११ महिनामा १३ खर्ब १४ अर्ब रुपैयाँ रहेको व्यापार घाटा यो वर्ष ६.३ प्रतिशतले बढेर १३ खर्ब ९७ अर्ब पुगेको विभागको रिपोर्टमा उल्लेख छ। चालू आवको जेठ मसान्तसम्म नेपालले १६ खर्ब ४४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १३.१५ प्रतिशतले बढी हो। यसै अवधिमा दुई खर्ब ४७ अर्ब रुपैयाँ बराबरको निर्यात भएको छ, जसमा ७७.७७ प्रतिशतको वृद्धिदर देखिएको छ। निर्यातको कुल व्यापारमा हिस्सा ८.७४ प्रतिशतबाट बढेर १३.०८ प्रतिशत पुगेको छ भने आयातको हिस्सा ९१.२६ प्रतिशतबाट घटेर ८६.९२ प्रतिशतमा झरेको छ।

नेपालले सबैभन्दा धेरै आयात गरेको वस्तु समूह खनिज इन्धन, खनिज तेल तथा बिटुमिनस पदार्थ रहेको छ। विभागका अनुसार यो समूहबाट दुई खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरिएको छ। तर, सोही समूहबाट निर्यात भने मात्र दुई करोड दुई लाख रुपैयाँ बराबरको भएको छ। डिजेल मात्रै एक खर्ब १५ अर्ब रुपैयाँ बराबरको आयात गरिएको छ। त्यसपछि भटमासको काँचो तेलको आयात ९५ अर्ब ७२ करोड रुपैयाँ बराबरको भएको छ। यस्तै, पेट्रोलको आयात करिब ५८ अर्ब ५८ करोड र खाना पकाउने ग्यासको आयात ५७ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै निर्यात भएको वस्तु प्रशोधित भटमासको तेल हो, जसको निर्यात मूल्य ९३ अर्ब ५१ करोड रुपैयाँभन्दा बढी छ। त्यसपछि सूर्यमुखी तेलबाट ११ अर्ब ३३ करोड रुपैयाँ बराबरको निर्यात आम्दानी भएको छ। तेस्रो स्थानमा हातले गाँसिएका ऊनी कार्पेटहरू रहेका छन्, जसको निर्यातबाट ९ अर्ब ७८ करोड रुपैयाँ आम्दानी भएको छ। अन्य प्रमुख निर्यात वस्तुहरूमा अलैंची, रोल गरिएको फलामजन्य वस्तु, जुट फाइबरबाट बनेका कपडा, चिया, पाल्तु जनावरको आहार आदि छन्।

नेपालले ११ मुलुकबाट १० अर्ब रुपैयाँभन्दा बढीको आयात गरेको छ। त्यसमध्ये सबैभन्दा धेरै व्यापार भारतसँग भएको छ। भारतबाट नेपालले नौ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने दुई खर्ब रुपैयाँ बराबरको निर्यात गरेको छ। भारतसँगको व्यापार घाटा सात खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। चीनसँगको व्यापार घाटा पनि ठूलो छ। चीनबाट तीन खर्ब १४ अर्ब रुपैयाँको वस्तु आयात गरिएको छ भने निर्यात मात्र २४ लाख रुपैयाँको भएको छ। त्यसअनुसार चीनसँगको व्यापार घाटा तीन खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। अन्य मुलुकहरू — अर्जेन्टिना, युक्रेन, इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, ब्राजिल, युएई, अमेरिका, अष्ट्रेलिया लगायतसँग पनि नेपालको व्यापार घाटा उल्लेखनीय छ। उदाहरणका लागि अर्जेन्टिनाबाट ८६ अर्ब रुपैयाँको आयात हुँदा निर्यात मात्र ३३ लाख रुपैयाँ बराबरको भएको छ। युएईसँग २२ अर्बभन्दा बढीको घाटा देखिएको छ। अमेरिकासँग व्यापार घाटा ७ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। 

 

वैदेशिक व्यापारमा वृद्धिका सङ्ख्यात्मक उपलब्धिहरू देखिए पनि नेपाल अझैसम्म आयात–निर्भर अर्थतन्त्रमै सीमित रहेको देखिन्छ। निर्यात वृद्धिको दर उल्लेखनीय देखिए पनि निर्यातको समग्र हिस्सा अझै दोहोरो अंकमा मात्र सीमित छ। दीर्घकालीन आर्थिक सन्तुलनका लागि निर्यातमुखी नीति, उत्पादकत्व वृद्धिमा लगानी र व्यापार सन्तुलन सुधार गर्न रणनीतिक हस्तक्षेप आवश्यक देखिन्छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।