नवलपरासी, असार ७ । मनसुन सक्रिय भएसँगै पूर्व–पश्चिम राजमार्गको अति संवेदनशील खण्ड बुटवल–नारायणगढ सडक हरेक दिन अवरुद्ध हुन थालेको छ। दाउन्ने र विनयी खोलाको डाइभर्सनमा फसेर सवारीसाधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि प्रहरीले यात्रुलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ। नवलपरासी (पूर्व) जिल्ला ट्राफिक कार्यालयका प्रहरी निरीक्षक जनकराज बन्जाराका अनुसार पछिल्ला चार दिन लगातार दाउन्ने र दुम्किवास क्षेत्रको सडक खण्ड पटक–पटक बन्द हुँदै आएको छ। बिहीबार साँझ केही समयका लागि सडक सञ्चालनमा आए पनि रातिदेखि पुनः अवरुद्ध भएको हो। विनयी खोलामा डाइभर्सनबाट गइरहेको काठमाडौंबाट दाङतर्फ गइरहेको यात्रुबाहक बस (भे.१ख ४०८५) बिहीबार राति ११ बजे फसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार खोलाको बिचभागमा फसेको बसबाट ३८ यात्रुलाई प्रहरी र सशस्त्र प्रहरीको टोलीले डेढ घण्टा प्रयासपछि जेसिबीको बकेट र क्रेनको सहायतामा सकुशल उद्धार गरिएको थियो। उद्धारको १० मिनेटमै खोलाको बहावले बस बगाएको थियो, जुन शुक्रबार बिहान पाँच सय मिटर तल फेला परेको छ।
विनयी खोलामा निर्माण गरिएको नयाँ पुल २३ जेठमा निर्माण सम्पन्न भए पनि त्यसलाई आगामी १४ असारमा मात्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यसअघि डाइभर्सनबाट सवारी चलाइँदै आएको भए पनि लगातारको वर्षाले डाइभर्सन बारम्बार बगाउने र चिप्लो सडकका कारण यात्रा जोखिमपूर्ण बनेको हो। जिल्ला प्रहरी कार्यालयका एसपी यादव ढकालले विनयी खोलामा पानीको बहाव नघटेकाले डाइभर्सन पुनः बनाउन कठिन भएको बताएका छन्। दाउन्ने खण्डमा समेत हिलो र चिप्लोपनका कारण सवारीसाधन उकालो चढ्न नसक्ने अवस्था रहेको जनाइएको छ। बुटवल–नारायणगढ खण्ड अवरुद्ध भइरहेपछि सवारीसाधन कालीगण्डकी करिडोरमार्फत बुटवल जाने प्रयास भइरहेको छ। गैँडाकोट–रामपुर–बुटवल मार्ग प्रयोगमा ल्याइए पनि उक्त वैकल्पिक रुटमा समेत समस्या देखिन थालेको छ। तरंगे खोलामा पानीको बहावका कारण बिहीबार राति चार घण्टा सवारी अवरुद्ध भएको स्थानीय यमबहादुर श्रेष्ठले जनाए। यात्रुहरू लामो जाममा पर्न थालेका छन्।
मनसुनजन्य जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुलीको अन्तरजिल्ला समन्वय समितिको निर्णयअनुसार शनिबारदेखि लागू हुने गरी साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक लगाइएको हो। काभ्रे, सिन्धुली र आसपासका क्षेत्रमा पहिरोको सम्भावना बढेकाले यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। रोशी, भोटेकोशी र सुनकोशीमा पानीको बहाव उच्च छ। गत वर्षको असोजमा आएको बाढीले यही खण्डको काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटबीचको नौ किलोमिटर सडक बगाएको स्मरणीय छ।
पूर्व–पश्चिम राजमार्गको एक प्रमुख खण्ड बुटवल–नारायणगढ र वैकल्पिक मार्ग कालीगण्डकी करिडोर दुवैमा आवागमन असहज बन्दै जाँदा यात्रुहरू संकटमा परेका छन्। निर्माणाधीन संरचना, ढिलो सञ्चालन, डाइभर्सनको अस्थायीत्व र अव्यवस्थित वैकल्पिक मार्गले गर्दा बर्खा मौसममा देशकै प्रमुख राजमार्ग अस्तव्यस्त भएको छ। यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै सम्बन्धित निकायहरूले शीघ्र र दीर्घकालीन समाधानतर्फ ध्यान दिन आवश्यक देखिएको छ।












