काठमाडौं, असार २२ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभरका अधिकांश संगठनात्मक कमिटीहरूको अधिवेशन सम्पन्न गरेको छ। पार्टी निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार प्रदेश र सबै जिल्लास्तरीय कमिटीका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भएका छन् भने स्थानीय तह, वडा र टोल कमिटीहरूमा अधिवेशन तीव्र गतिमा सम्पन्न हुँदै गएका छन्। डा. सुब्बाका अनुसार स्थानीय तहका ९८ प्रतिशत, वडा कमिटीका ९० प्रतिशत र टोल कमिटीका ५० प्रतिशत अधिवेशन सम्पन्न भइसकेका छन्। उनका अनुसार हाल १० वटा स्थानीय तह कमिटी र ९८ वटा वडास्तरीय कमिटीको मात्र अधिवेशन गर्न बाँकी छ। बाँकी अधिवेशनहरू पनि तोकिएको समयमा, विधान महाधिवेशन अगाडि नै सम्पन्न गर्ने तयारीमा पार्टी लागेको छ।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म काठमाडौंमा आयोजना हुने तय भएको छ। सो महाधिवेशनअघि पार्टीको सबै संगठन र कमिटी संरचना पूर्ण रूपमा अद्यावधिक गर्ने तयारीमा एमाले जुटेको हो। एमालेसँग आवद्ध २३ वटा जनसंगठनमध्ये हालसम्म १६ वटाले आफ्ना महाधिवेशन सम्पन्न गरिसकेका छन्। बाँकी जनसंगठनहरूको महाधिवेशन पनि आगामी केही साताभित्र गरिने जानकारी पार्टी स्रोतले दिएको छ। यस अभियानलाई एमालेले आगामी विधान महाधिवेशनलाई सफल र समावेशी बनाउन तथा संगठनलाई तल्लो तहदेखि माथिसम्म सुदृढ गर्नका लागि आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया मानेको छ।
विगत केही वर्षयता विभिन्न विभाजन र गुटगत प्रतिस्पर्धाबाट गुज्रिएको एमालेले अहिले पुनः संगठनात्मक एकता र अनुशासनलाई प्राथमिकता दिँदै पार्टीभित्रको संरचनालाई व्यवस्थित बनाउन ध्यान दिएको देखिन्छ। अधिवेशनमार्फत पार्टी नेतृत्व तहमा नयाँ अनुहारको सम्भावना र सांगठनिक ताजगी ल्याउने अपेक्षा गरिएको छ। विधान महाधिवेशनमार्फत पार्टीको सांगठनिक र वैचारिक दिशा पुनः परिभाषित हुने संकेतसहित एमालेलाई २०८४ को आम निर्वाचनको तयारीतर्फ उन्मुख गराउने प्रयास गरिनेछ।












