२ साउन, काठमाडौं । मितेरी सहकारी ठगी प्रकरणमा संग्लन अर्का व्यक्ति सुरेश अधिकारीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले अधिकारीलाई बर्दियाको बाँसगढी नगरपालिका–७ घर भई हाल काठमाडौंको माकलबारीमा होटल सञ्चालन गर्दै बसेको अवस्थामा पक्राउ गरेको हो। प्रकरणमा यसअघि पक्राउ परेका ज्योतिबहादुर भण्डारी र सुवास खत्रीसँग मिलेर अधिकारीले ठगी योजनामा सक्रिय संलग्नता देखाएको अनुसन्धानमा खुलेको छ। उनीहरू मिलेर ठगीबाट संकलित करोडौं रुपैयाँ क्रिप्टो र हुण्डीमार्फत विदेश पुर्याई कम्बोडियाको क्यासिनोमा लगानी गरेको प्रहरीको दाबी छ। CIB का प्रवक्ता एसपी युवराज खड्काका अनुसार अधिकारी मितेरी सहकारी ठगीका मुख्य अभियुक्त भण्डारीका सहयोगी हुन्। “रकमको व्यवस्थापनदेखि सम्पर्कसम्मको जिम्मेवारी अधिकारीको रहेको पाइएको छ,” खड्काले भने।
अहिले प्रहरीले ठगीसँगै लिखतसम्बन्धी अपराध, क्रिप्टो कारोबार र अवैध हुण्डी कारोबारसमेतमा अनुसन्धान अघि बढाएको छ। ठगी योजनाबद्ध र संगठित रूपमा तीन जना वा बढीको संलग्नतामा गरिएको पुष्टि भएपछि अब अनुसन्धान संगठित अपराध अन्तर्गत अघि बढाइने भएको छ। यसअनुसार प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउनेछ। CIB का अनुसार, ठगीमा प्रयोग गरिएको रकम क्रिप्टो तथा हुण्डीमार्फत विदेश पुर्याइएको देखिएको छ। त्यही रकम क्यासिनो व्यवसायमा लगानी गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ठगीका मुख्य अभियुक्त भण्डारीको नाममा दुई वटा फरकफरक राहदानी र नागरिकता प्रमाणित भएकोले प्रहरी अब लिखतसम्बन्धी मुद्दामा पनि अनुसन्धान अघि बढाउने भएको छ। उनले कास्की र बर्दिया दुवै जिल्लाबाट छुट्टाछुट्टै नागरिकता र राहदानी लिएका थिए।
मितेरी सहकारीबाट रकम निकाल्नका लागि भण्डारीले पूर्वमहाप्रबन्धक ज्योति गुरुङ (नेपाली कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी) लाई माध्यम बनाएर संस्था र सञ्चालक समितिसँग सम्पर्क गरेका थिए। उनीहरूले सहकारीले तिर्नुपर्ने १४ करोड ८१ लाख रुपैयाँ आफू तिरिदिने भन्दै विभिन्न झुठा कागजात र बैंक ट्रान्सफरको टोकन फोटोसमेत पठाएर विश्वास दिलाएका थिए। तर, त्यसै आधारमा उल्टै सहकारीबाट पटकपटक रकम लिएको पाइएको छ। भण्डारीले ३ करोड ४४ लाखभन्दा बढी रकम यसरी ठगी गरेका थिए। अहिले भण्डारी, खत्री र अधिकारी तीनैजना प्रहरी हिरासतमा छन्। उनीहरू मितेरी सहकारीका सदस्य वा सञ्चालक भने होइनन्। तर, उनीहरूले संस्थाभित्रका केही पदाधिकारीहरूलाई प्रभावित पारेर ठूलो रकम ठगी गरेका हुन्। CIB का अनुसार ठगीबाट संकलित रकम कहाँ–कहाँ लगानी गरियो, को–को यसमा संलग्न छन् र विदेशस्थित लगानीको अवस्थाबारे थप अनुसन्धान जारी छ।








