रसुवा, ११ साउन २०८२ — रसुवागढीस्थित मितेरी पुल बगाएपछि बन्द रहेको नेपाल–चीन सडक सम्पर्क पुनः सुचारु गर्न चीन सरकारले भोलिदेखि अस्थायी बेलिब्रिज निर्माण गर्ने तयारी गरेको छ। गत असार २४ गते भोटेकोशी नदीमा आएको भयानक बाढीले मितेरी पुल पूर्ण रूपमा बगाएपछि रसुवागढी नाका ठप्प भएको थियो। यसले नेपाल र चीन बीचको महत्वपूर्ण सिमावर्ती व्यापारिक तथा आवागमन मार्ग अवरुद्ध बनाएको थियो। आज रसुवा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलको नेतृत्वमा निर्माण स्थलको अवलोकन गरिएको छ। त्यसपछि नेपाल र चिनियाँ समकक्षीबीच भर्चुअल माध्यमबाट बैठक सम्पन्न भयो।
बैठकमा चिनियाँ पक्षले नेपाल सरकारसँगको समन्वयमा भोलिदेखि बेलिब्रिज निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले पनि पुल निर्माण कार्यमा आवश्यक सबै प्रकारका सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। बेलिब्रिज निर्माण पूरा भए पछि रसुवागढी नाका पुनः खोलिने र दुई देशबीचको आवागमन तथा व्यापार सहज हुने अपेक्षा गरिएको छ। यसले पूर्व–पश्चिमीय तथा अन्तर्राष्ट्रिय व्यापारिक मार्गमा समेत सकारात्मक प्रभाव पर्ने अनुमान छ। नेपाल–चीन सडक सम्पर्कको पुनःस्थापनासँगै दुवै देशका जनजीवन र आर्थिक क्रियाकलापमा थप गति आउने विश्वास व्यक्त गरिएको छ।








