एस.ए. टिचर्स कप २०८३ को रोमाञ्चक यात्रा सुरु हुँदै : २४ विद्यालयका शिक्षक टोली प्रतिस्पर्धामा, खेल तालिका र Tournament Pathway सार्वजनिक
✍️ रिपोर्ट: हरि कार्की
काठमाडौं | लालबिहानी डटकम
काठमाडौंको शैक्षिक क्षेत्रमा पहिलोपटक फरक अवधारणासहित आयोजना हुन लागेको “एस.ए. टिचर्स कप २०८३” को आधिकारिक खेल तालिका (Official Fixture) तथा Full Tournament Pathway सार्वजनिक गरिएको छ। शान्ति समाज शैक्षिक प्रतिष्ठान प्रा.लि. अन्तर्गत सञ्चालित एस.ए. कलेज को आयोजनामा हुने यस प्रतियोगिताले काठमाडौं उपत्यकाका २४ विद्यालयका शिक्षक टोलीहरू लाई एउटै प्रतिस्पर्धात्मक मञ्चमा ल्याउने भएको छ।
शिक्षकहरूबीच खेलकुद संस्कृति विकास, अन्तरविद्यालय सम्बन्ध सुदृढीकरण, स्वास्थ्यप्रति सचेतना तथा सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता २०८३ साल श्रावण ८ गतेदेखि जोरपाटी फुटसल, गोकर्णेश्वर–५ मा सुरु हुनेछ।
प्रतियोगितामा सहभागी टोलीहरूले उद्घाटन चरणबाट नै नकआउट प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक खेल विजेताका लागि अर्को चरणमा पुग्ने अवसर हुनेछ भने अन्ततः उत्कृष्ट टोलीले एस.ए. टिचर्स कप २०८३ को उपाधि जित्नेछ।
तीन दिनसम्म रोमाञ्चक प्रतिस्पर्धा
श्रावण ८, ९ र १० गते सञ्चालन हुने प्रतियोगितामा काठमाडौंका प्रतिष्ठित विद्यालयहरूका शिक्षक टोलीहरूबीच प्रतिस्पर्धा हुनेछ। आयोजकले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन चरणका खेलहरू साँझ तथा बिहान विभिन्न समयमा सञ्चालन हुनेछन्।
प्रतियोगितामा एस.ए. स्कूल, एस.ए. कलेज, चेल्सी इन्टरनेशनल एकेडेमी, ड्याफोडिल बोर्डिङ स्कुल, हिमशृंखला एकेडेमी, अप्सिलन नेशनल स्कुल, अनमोल ज्योति सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, टाइमलाइन स्कुल, विद्यासागर इङ्ग्लिस बोर्डिङ स्कुल, इस्ट पोल सेकेन्डरी स्कुल, विद्यावाणी पाठशाला, लिम्पिया नेशनल स्कुल, शाङ्ग्रिला पब्लिक स्कुल, न्यू मिलेनियम स्कुल, मनकामना सेकेन्डरी स्कुल, सर्वनाम शिक्षालय, छहरी शिक्षा सदन, लर्ड्स लाइट एकेडेमी, एकता जेम्स इङ्ग्लिस एकेडेमी, ब्रह्मकुञ्ज शिक्षा सदन, सेन्ट लरेन्स स्कुल, द सेलिब्रेसन को–एड स्कुल तथा एभरग्रीन इङ्ग्लिस सेकेन्डरी स्कुल लगायतका टोलीहरू सहभागी हुँदैछन्।
फाइनलसम्मको सम्पूर्ण यात्रा सार्वजनिक
आयोजकले प्रतियोगिताको Full Tournament Pathway समेत सार्वजनिक गरिसकेको छ। उद्घाटन चरणका विजेता टोलीहरू प्रि–क्वार्टरफाइनल, त्यसपछि क्वार्टरफाइनल, सेमिफाइनल हुँदै अन्तिम प्रतिस्पर्धा अर्थात् ग्रान्ड फाइनल मा प्रवेश गर्नेछन्। यसले सहभागी विद्यालयहरूलाई आफ्नो सम्भावित प्रतिस्पर्धी र उपाधिसम्मको यात्राबारे स्पष्ट जानकारी दिएको छ।
प्रधानाध्यापक गोविन्द प्रसाद दंगालको भनाइ
एस.ए. कलेजका प्रधानाध्यापक गोविन्द प्रसाद दंगाल ले शिक्षकहरू समाजका मार्गदर्शक मात्र नभई स्वस्थ जीवनशैलीका प्रेरक पनि हुनुपर्ने उल्लेख गर्दै यस प्रतियोगिता त्यस दिशामा महत्वपूर्ण कदम भएको बताए।
उहाँले भन्नुभयो,
“शिक्षकहरूबीचको सम्बन्ध कक्षाकोठाभित्र मात्र सीमित हुनु हुँदैन। खेलकुदले मित्रता, नेतृत्व, अनुशासन र सहकार्यको भावना विकास गर्छ। एस.ए. टिचर्स कप २०८३ ले विभिन्न विद्यालयका शिक्षकहरूलाई एउटै परिवारको रूपमा जोड्ने विश्वास लिएका छौँ। आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ ठूलो र राष्ट्रियस्तरको बनाउने लक्ष्य पनि हाम्रो छ।”
ईसीए प्रमुख राकेश स्याङ्बोको भनाइ
एस.ए. कलेजका ईसीए प्रमुख राकेश स्याङ्बो ले प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको जानकारी दिँदै खेलभावना नै प्रतियोगिताको मुख्य विशेषता हुने बताए।
उहाँले भन्नुभयो,
“प्रतियोगितामा सहभागी सबै टोलीलाई निष्पक्ष, व्यवस्थित र सुरक्षित वातावरण उपलब्ध गराउने हाम्रो पहिलो प्राथमिकता हो। जित र हार खेलको स्वाभाविक पक्ष भए पनि सम्मान, अनुशासन र मित्रता नै प्रतियोगिताको वास्तविक उपलब्धि हुनेछ।”
कार्यक्रम संयोजक अशोक गिरीको भनाइ
कार्यक्रम संयोजक अशोक गिरी ले सार्वजनिक गरिएको खेल तालिका र Tournament Pathway ले प्रतियोगितालाई अझ व्यवस्थित र रोमाञ्चक बनाएको बताए।
उहाँले भन्नुभयो,
“हरेक खेल प्रतिस्पर्धात्मक र स्मरणीय बनाउने हाम्रो प्रयास रहनेछ। सहभागी विद्यालय, रेफ्री, प्राविधिक टोली तथा स्वयंसेवकहरूसँगको समन्वय पूरा भइसकेको छ। हामी उत्कृष्ट व्यवस्थापनसहित सफल प्रतियोगिता सम्पन्न गर्नेमा विश्वस्त छौँ।”
![]()
![]()
खेल सुरु हुनुअघि २० मिनेटअघि उपस्थित हुन आग्रह
आयोजकले सबै सहभागी टोलीलाई निर्धारित खेल समयभन्दा कम्तीमा २० मिनेटअघि खेलस्थलमा उपस्थित हुन अनुरोध गरेको छ। प्रतियोगिताका सबै खेलहरू जोरपाटी फुटसल मा सञ्चालन हुनेछन्।
शिक्षकहरूबीचको मित्रता, सम्मान र खेलभावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको एस.ए. टिचर्स कप २०८३ ले काठमाडौंको शैक्षिक क्षेत्रमा एउटा नयाँ खेल संस्कृतिको सुरुवात गर्ने अपेक्षा गरिएको छ।
अब सबैको नजर एउटै प्रश्नमा केन्द्रित छ—
“एस.ए. टिचर्स कप २०८३ को पहिलो च्याम्पियन बन्ने गौरव कसले हासिल गर्ने?”













