१५ जेठ, काठमाडौं — सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद क्षेत्रमा हालसम्मकै उच्च ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा २ अर्ब ५८ करोडले बढी हो। यसअघि सर्वाधिक बजेट आव २०७६/७७ मा ३ अर्ब ९९ करोड थियो, जुन यो वर्षको बजेटले उछिनेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा खेल पूर्वाधार, खेलाडीको व्यावसायिकता, महिला सहभागिता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागितालाई प्राथमिकता दिइएको छ।
सरकारले खेल पूर्वाधारमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीति लिएको छ। साथै, प्रदेश र क्षेत्रअनुसार विविध परियोजनाहरूको घोषणा गरिएको छ: दमकमा अन्तर्राष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने। सोलुखुम्बु र मुस्ताङ जस्ता हिमाली क्षेत्रहरूमा हाइ अल्टिट्युड स्पोर्ट्स स्टेडियम निर्माण गरिने। किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नतिका लागि ४० करोड छुट्याइएको। मुलपानी, फाप्ला, सिद्धार्थ, र गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानहरूको स्तरोन्नतिका लागि ४२ करोड बजेट विनियोजन।
चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालाको सिर्जित सम्पत्तिको खरिदका लागि सशर्त अनुदानको व्यवस्था गरिएको छ। १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न सुर्खेतको विरेन्द्रनगरमा ५४ करोड रुपैयाँ छुट्याइएको छ। राष्ट्रिय एन्टी डोपिङ एजेन्सी सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरूलाई नगद प्रोत्साहन, र उनीहरूको सन्तानका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ। खेलाडी तथा प्रशिक्षकलाई दिइँदै आएको प्रोत्साहन भत्ता निरन्तरता दिइनेछ। महिला सहभागिता बढाउने नीतिलाई प्राथमिकता दिइएको छ। उत्कृष्ट महिला खेलाडीलाई पुरस्कारको व्यवस्था मिलाइएको छ, जसले महिला खेलकुदमा प्रोत्साहन थप्नेछ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले बजेटप्रति उत्साहजनक प्रतिक्रिया दिएका छन्। उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘राम्रो छ, उत्साह जगाउने खालको छ।’ सरकारले प्रस्तुत गरेको यो बजेटले नेपालको खेलकुद क्षेत्रको संरचनागत विकास मात्र होइन, प्रतिभा, समावेशिता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागी हुन सक्ने वातावरण पनि तयार पार्ने संकेत गरेको छ। पूर्वाधारदेखि प्रोत्साहनसम्मको बहुआयामिक पहलले आगामी वर्षलाई नेपाली खेलकुदको सुनौलो सम्भावना बोकेको मोड बनाएको छ।












