काठमाडौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (ICT) ले आइतबार पक्राउ पूर्जी जारी गरेको छ। उनीविरुद्ध मानवअधिकार उल्लंघनसम्बन्धी अभियोगमा सुनुवाइ सुरु भएको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्। शेख हसिनामाथि सन् २०२३ को जुलाई १५ देखि एक महिना लामो विद्यार्थी आन्दोलनको क्रममा प्रदर्शनकारीमाथि गोली चलाउन आदेश दिएको आरोप लागेको छ। सो घटनामा दर्जनौं मानिसको मृत्यु भएको र सयौं घाइते भएको जनाइएको छ।
आईसीटीले शेख हसिनाको भूमिकालाई गम्भीर अपराधको रूपमा लिँदै अनुसन्धान अघि बढाएको हो। अदालतले उनलाई उपस्थित गराउन कानून कार्यान्वयन निकायलाई निर्देशन दिँदै पक्राउ पूर्जी जारी गरेको हो। यसअघि पनि शेख हसिनाको सत्ताविरुद्ध प्रदर्शनहरू भइरहेका थिए भने विपक्षी दलहरूले उनको सरकारलाई निरंकुश र मानवअधिकारविरोधी आरोप लगाउँदै आएका थिए।












