काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित ६ जना सहसचिवको सरुवा गरेको छ। शुक्रबार गृहमन्त्री रमेश लेखकको निर्णयपछि बर्दिया, कास्की, धनुषा र पाँचथरका सिडिओहरू सरुवा भएका हुन्। कर्मचारी प्रशासन महाशाखा प्रमुख सहसचिव छवि रिजालका अनुसार बर्दियाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको कास्कीमा सरुवा गरिएको छ। कास्कीका तत्कालीन सिडिओ भरतमणि पाण्डेलाई भने मन्त्रालय तानेर जगेडामा राखिएको छ।
त्यस्तै, मन्त्रालयको जगेडामा रहेका सहसचिव सुरेन्द्र पौडेललाई बर्दियाको सिडिओ बनाएर पठाइएको छ। शंकरहरि शर्मालाई धनुषाको प्रमुख जिल्ला अधिकारी बनाइएको छ भने त्यहाँ कार्यरत रामुराज कडरीयालाई मन्त्रालय तानिएको छ। यसैगरी, मन्त्रालयमै रहेका सहसचिव अरुण पोखरेललाई पाँचथरको सिडिओ पदमा पठाइएको छ। मन्त्रालयको नियमित प्रशासनिक प्रक्रिया अन्तर्गत भएको सरुवालाई कर्मचारी प्रशासन महाशाखाले कार्यान्वयनमा ल्याएको हो।












