काठमाडौं, जेठ २० पछिल्लो पाँच महिनादेखि ललितपुरमा सञ्चालनमा रहेको अनलाइन सट्टेबाजी अड्डामा छापा मार्दै प्रहरीले १७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलमा एकैसाथ छापा हानेको हो। पक्राउ परेकामध्ये ५ जना भारतीय नागरिक छन् भने बाँकी १२ जना नेपाली हुन्। नेपाली नागरिक: डाइमण्ड कुँवर, मनोज बोगटी, राजेन्द्रबहादुर महता, अरविनकुमार खड्का, विष्णुकुमार राउत, ठक्कर कुँवर, तिलक खड्का, जीतबहादुर महतो (जोर्डन), सुवास खड्का, विकास थापा, हर्कबहादुर खड्का, पूर्णबहादुर दर्लामी मगर, भारतीय नागरिक: ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह, मोहितकुमार सिंह ।
प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार उनीहरूले मुख्यतः आइपिएल लगायत विभिन्न अन्तर्राष्ट्रिय खेलहरूमा अनलाइन बेटिङ सञ्चालन गर्दै आएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार ८१ करोड रुपैयाँ बराबरको अवैध कारोबार भएको देखिएको छ। प्रहरीले बताएको अनुसार कारोबारमा प्रयोग गरिएका अधिकांश बैंक खाता भारतीय बैंकहरू हुन्, जसबाट संलग्न अधिकांश भारतीय नागरिक हुनसक्ने अनुमान गरिएको छ। स समूहले पहिले दुबईमा समेत यस्तै खालको अनलाइन बेटिङ अड्डा चलाएको प्रहरीको अनुसन्धानमा खुलेको छ। पछि नेपालमा बेस बनाएर ५ महिनादेखि गतिविधि सञ्चालनमा ल्याइएको पाइएको हो।
छापाको क्रममा प्रहरीले मोबाइल, ल्यापटप, इन्टरनेट राउटर लगायतको इलेक्ट्रोनिक उपकरणहरू पनि बरामद गरेको छ, जसमा बेटिङसम्बन्धी विवरणहरू रहेको अनुमान गरिएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ। यो घटना नेपालमा फैलिँदै गएको अनलाइन सट्टेबाजीको गम्भीर खतरा र त्यसको अन्तर्राष्ट्रिय जालोसँगको सम्बन्ध उजागर गर्ने खालको छ। यसले साइबर अपराधको उचाइ र सुरक्षा निकायहरूका लागि चुनौती झल्काउँछ।












