रौतहट, २१ जेठ २०८२ — रौतहटको चन्द्रपुर नगरपालिका–१, मंगलपुरमा ट्रक र विद्युतीय (इभी) गाडी एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा बुधबार भएको दुर्घटनामा सर्लाही रामनगर गाउँपालिका–१ की ३६ वर्षीया भगिया देवी र ३० वर्षीय धिरेन्द्र ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीले जानकारी दिए। घाइते हुनेमा सोही ठाउँकी १८ वर्षीया रानीकुमारी यादव र रौतहट दुर्गाभगवती गाउँपालिका–५ का १९ वर्षीय सरोज ठाकुर रहेका छन्। उनीहरूको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका डा. सुभाष चौधरीका अनुसार दुवैको अवस्था खतरामुक्त छ।
दुर्घटनामा सर्लाहीको बरहथवाबाट चन्द्रपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको सोकोन ब्रान्डको इभी गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए। प्रहरीले ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१३ का ग्यालसेन थोकर र इभी चालक सर्लाही रामनगर–३ का आकाश सिंहलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजकुमार राईले जानकारी दिएका छन्।












