नेपालगञ्ज, २१ जेठ २०८२ — जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव लुम्बिनी प्रदेशका तीन जिल्लाको जिल्ला अधिवेशन सम्पन्न गराउन बुधबार नेपालगञ्ज पुगेका छन्। अध्यक्ष यादवसँगै केन्द्रीय महासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा, राष्ट्रिय सभा सदस्य खालिद सिद्धिकी, केन्द्रीय सदस्य सिपी सिंहलगायत शीर्ष नेताहरू नेपालगञ्ज पुगेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ।
आज बाँके जिल्लाको पहिलो एकता जिल्ला अधिवेशन आयोजना गरिएको छ, जसको उद्घाटन अध्यक्ष यादवले गर्ने कार्यक्रम छ। अधिवेशनमा नयाँ जिल्ला कार्यसमिति गठन गर्नुका साथै आगामी योजना र कार्यदिशा तय गरिनेछ। यसक्रममा, भोलि जेठ २२ गते बर्दिया जिल्लाको अधिवेशन गुलरियामा र जेठ २३ गते कपिलवस्तु जिल्लाको अधिवेशन सम्पन्न हुने तय गरिएको छ। तीनवटै अधिवेशनमा अध्यक्ष यादवसहितको शीर्ष नेतृत्वको उपस्थिति रहने बताइएको छ। जसपा नेपाल अहिले देशव्यापी रूपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने अभियानमा सक्रिय भएको छ।












