२०८३ आश्विन ६ मंगलवार
Search
२०८३ आश्विन ६ मंगलवार

आज विश्व वातावरण दिवस : ‘प्लास्टिक प्रदूषण न्यूनीकरण’ मा जोड

काठमाडौँ, २२ जेठ २०८२, हरेक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवस आज नेपालसहित विश्वभर विविध सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। यस वर्षको मूल नारा “प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व” रहेको छ, जसले प्लास्टिकजन्य फोहोरले पृथ्वीमा पारेको गम्भीर असरलाई उजागर गर्दै नागरिक, सरकार तथा उद्योगहरूलाई उत्तरदायी बन्न प्रेरित गर्छ। यो दिवस सन् १९७३ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा मनाउन थालिएको हो। यस वर्षको प्रमुख अन्तर्राष्ट्रिय कार्यक्रम दक्षिण कोरियामा आयोजना हुँदैछ, जसमा नीति निर्मातादेखि वातावरणविद्हरू, अभियन्ता र युवाहरूको सहभागिता रहनेछ। संयुक्त राष्ट्रसंघीय तथ्यांकअनुसार हरेक वर्ष करिब ४० करोड टन प्लास्टिक फोहोर उत्पादन हुने गर्छ, जसको केवल १० प्रतिशत मात्र पुनःप्रयोग गरिन्छ।

बाँकी ठूलो परिमाणमा प्लास्टिक नदी, ताल, झरना, र महासागरमा बगाइन्छ, जसबाट जलचर प्राणी, खाद्य श्रृंखला, र मानव स्वास्थ्यमा गम्भीर संकट उत्पन्न भएको छ। विशेषज्ञहरूका अनुसार एक करोड १० लाख टन प्लास्टिक समुद्री जलस्रोतमा बर्सेनि फालिन्छ, जसले महासागरको जैविक सन्तुलनमा दीर्घकालीन असर पारिरहेको छ। नेपालमा समेत प्लास्टिकको अत्यधिक प्रयोग, उचित व्यवस्थापनको अभाव, र पुनःप्रयोग प्रविधिको न्यून प्रयोगले गर्दा शहरी तथा ग्रामीण दुवै क्षेत्रमा प्लास्टिक प्रदूषण एक जटिल समस्या बन्दै गएको छ। आजको दिन देशभरका विद्यालय, सरकारी निकाय, सामाजिक संस्था तथा युवाहरूले वृक्षारोपण, सचेतना ¥याली, सरसफाइ अभियान, र गोष्ठीहरू आयोजना गर्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरिरहेका छन्। 

आजको दिनलाई “गैरकानुनी रूपमा माछा मार्ने विरुद्धको सङ्घर्ष दिवस”को रूपमा पनि मनाइन्छ। सन् २०१७ देखि FAO (संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन) को पहलमा यो दिवस मनाउन थालिएको हो, जसको उद्देश्य जल स्रोतको दिगो प्रयोग र समुन्द्री जीवनको संरक्षण हो। FAO ले जारी गरेको रिपोर्टअनुसार, हरेक वर्ष १ करोड १० लाखदेखि २ करोड ६० लाख टन माछा गैरकानुनी रूपमा समातिने गरेको छ, जसका कारण विश्वव्यापी माछा व्यवसायमा अर्बौँ डलरको घाटा हुने गरेको छ। गैरकानुनी, अनियमित, तथा अविवेकपूर्ण रूपमा माछा मार्ने कार्यले समुद्री पारिस्थितिकी प्रणाली मात्र होइन, समुद्रमा आश्रित लाखौँ मानिसको जीविकोपार्जन पनि संकटमा परेको छ। यसले दिगो विकास लक्ष्य (SDGs) प्राप्तिमा समेत बाधा पुर्‍याएको FAO को भनाइ छ। नेपालजस्तो हिमाली तथा पहाडी मुलुकमा पनि माछापालन र नदीजन्य माछा उत्पादन कृषि अर्थतन्त्रको हिस्सा बनिरहेको सन्दर्भमा यस्तो अन्तर्राष्ट्रिय दिवसले जल स्रोतको दिगो संरक्षण र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको देखिन्छ। 

विश्व वातावरण दिवस तथा गैरकानुनी माछा मार्ने विरुद्धको दिवसले हामी सबैलाई प्रकृति र पारिस्थितिक सन्तुलनप्रति उत्तरदायी बनाउने सन्देश दिन्छ। प्लास्टिक प्रदूषण, जल स्रोतको विनाश, र जैविक विविधताको ह्रास जस्ता समस्याहरूलाई समाधान गर्न अब केवल नीति र घोषणामै सीमित नरही व्यवहारमैत्री अभ्यास र स्थानीय तहको सक्रियता अपरिहार्य भइसकेको छ। आजको दिन हामी सबैका लागि आफ्ना व्यक्तिगत तथा सामूहिक जीवनशैलीमा हरियाली, सरसफाइ र संरक्षणलाई पहिलो प्राथमिकता दिने प्रण गर्ने उपयुक्त अवसर हो।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।