२३ जेठ, जनकपुरधाम — राष्ट्रिय युवा परिषदको आयोजनामा जनकपुरधाममा प्रदेशस्तरीय युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ। ‘युवाका लागि अबको निकास : उद्यमशीलता, रोजगारी र सिप विकास’ भन्ने मूल नारासहित सम्मेलनले सिप, स्टार्टअप, रोजगारी र सहुलियत कर्जा जस्ता विषयमा बहुआयामिक छलफल गरेको हो। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मन्त्रालयको बजेट गत वर्षको भन्दा दोब्बर भएको बताउँदै अब युवाका पक्षमा ठोस काम हुने बताए। उनले आफ्नै संघर्षपूर्ण जीवनको अनुभव सुनाउँदै युवालाई मिहिनेत र निरन्तरताको सन्देश दिए। मधेश प्रदेशका मन्त्रीहरू — समाज कल्याण मन्त्री प्रमोद जयसवाल, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय — ले प्रदेशस्तरमा युवा उद्यमशीलता र स्टार्टअप प्रवर्द्धन गर्ने कार्यक्रमहरू ल्याउने जानकारी दिए। प्रदेश युवा परिषद गठनको तयारीसमेत भइरहेको बताइएको छ।
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवामुखी नीति, कार्यक्रम र योजनाको जानकारी दिन सम्मेलन आयोजना गरिएको बताए। सम्मेलनमा सहुलियत कर्जा, स्टार्टअप र वित्तीय पहुँच विस्तारका उपायहरूमा विशेष छलफल भएको थियो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्दराज पोखरेलले युवालाई उद्यमशीलताको मूलधारमा ल्याउन तीनै तहका सरकारबीच समन्वयको आवश्यकता औंल्याए। मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनकुमार साहले वेरोजगारी र पलायनको समस्या समाधान गर्न सिप विकास र आत्मनिर्भरता आवश्यक रहेको बताए।
सम्मेलनमा उद्योग तथा पर्यटन मन्त्रालयका सचिव जयकुमार घिमिरे, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख प्रबन्धक रिसव भट्टराई, नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे, योजना आयोग सदस्य ललिता यादव लगायतले युवा उद्यमशीलता, सहुलियत कर्जा, महिला सशक्तीकरण र स्काउटिङ शिक्षामार्फत प्रेरणा प्रदान गर्ने प्रतिबद्धता जनाए। परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले यस्ता सम्मेलन सबै प्रदेशमा आयोजना गर्ने योजना रहेको जानकारी दिँदै, कोशीमा जेठ २० र गण्डकीमा जेठ २७ गतेसम्म सम्मेलन सञ्चालन हुने जानकारी दिए। जनकपुरमा सम्पन्न सम्मेलनले युवामा उद्यमशीलताको चेतना फैलाउने, नीति निर्माणमा उनीहरूको सहभागिता बढाउने र रोजगारीको अवसर सृजनाका लागि बहुआयामिक छलफललाई प्रोत्साहन दिएको छ। सरकार, नीति निर्माता र वित्तीय निकायहरूको सहभागिताले युवाको सम्भावनालाई कार्यान्वयनतर्फ लैजाने सकारात्मक संकेत देखिएको छ।












