२३ जेठ, काठमाडौं — पत्रकारको पहिचान प्रयोग गरी सरकारी निकायहरूबाट अनियमित लाभ लिएको आरोपमा रामेछाप मन्थली नगर विकास समितिका अस्थायी नासु टिकाप्रसाद भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा भट्टमाथि कर्मचारी हैसियत लुकाएर पत्रकारको आवरणमा काज, भ्रमण र भत्ता असुली गरेको आरोप लगाइएको छ। भट्टले २०४९ सालदेखि अस्थायी खरिदारका रूपमा विभिन्न सरकारी निकायहरूमा सेवा दिँदै आएका थिए। यसबीचमा उनले कान्तिपुर दैनिकका पूर्णकालीन पत्रकारको हैसियतमा पनि तलब भत्ता लिएको, साथै नगर विकास समिति र अन्य संघसंस्थाबाट समेत आर्थिक लाभ उठाएको अख्तियारको दाबी छ।
अख्तियारका अनुसार, भट्ट मन्थली बचत तथा ऋण सहकारी संस्था, मिडाड नेपाल जस्ता विज्ञापन एजेन्सी लगायत विभिन्न संस्थाहरूमा आवद्ध रही करिब १ करोड १५ लाख रुपैयाँ बराबरको गैरकानुनी लाभ उठाएको देखिएको छ। यस प्रकरणमा सघन शहरी तथा भवन निर्माण आयोजना अन्तर्गत काम गरेका तत्कालीन प्रमुखहरू — अमरबहादुर थापा, नारायणप्रसाद भण्डारी, सुरेशकुमार वाग्ले, साथै लेखा प्रमुखहरू यमलाल बेल्वासे, सुरेश दाहाल लगायतका कर्मचारीहरूमाथि पनि भ्रष्टाचार संलग्नताको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।












