काठमाडौँ / जुम्ला, २४ जेठ २०८२ — सामाजिक सेवामा सक्रिय संस्था हिमानी ट्रस्टले जुम्लाको दुर्गम क्षेत्र गुठिचौर गाउँपालिका–मनिसाङ्घमा सुत्केरी सेवा केन्द्र निर्माणको शिलान्यास गरेको छ। पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाह सहित जुम्ला पुगेर उक्त सेवा केन्द्रको शिलान्यास गरेकी हुन्। हिमानी ट्रस्टले स्वास्थ्य पहुँच अभाव झेलिरहेका महिला र नवजात शिशुहरूका लागि अत्यावश्यक सुत्केरी सेवा सुनिश्चित गर्न यो केन्द्र निर्माण गर्न लागेको हो। ट्रस्टले यसलाई आफ्नो सामाजिक सेवा अभियानको महत्वपूर्ण पाटोको रूपमा अघि बढाएको जनाएको छ। पूर्व युवराज्ञी हिमानी शाह जुम्ला विमानस्थलमा अवतरण गर्दा उनलाई स्थानीयवासी, जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूले विशेष स्वागत गरेका थिए। स्वागतपछि उनी मनिसाङ्घ गइन्, जहाँ निर्माणस्थलमा कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधिहरूले हिमानी ट्रस्टले सञ्चालन गर्न लागेको सुत्केरी सेवा केन्द्रले दुर्गम ग्रामीण भेगका महिलाहरूको जीवन र सुरक्षित मातृत्वमा ठूलो राहत पुर्याउने विश्वास व्यक्त गरेका थिए। “गर्भवती महिलाहरू लामो दूरी पैदल हिँडेर सेवा लिन विवश छन्,” गुठिचौर गाउँपालिकाका एक प्रतिनिधिले भने, “यो केन्द्रले आमाको जीवन रक्षा र शिशुको सुरक्षित जन्म सुनिश्चित गर्न सहयोग पुर्याउनेछ।” हिमानी ट्रस्टले विगतदेखि नै शिक्षा, स्वास्थ्य र मानव सेवामा विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुम्ला जस्तो पछाडि परेको कर्णाली क्षेत्रलाई प्राथमिकता दिँदै ट्रस्टले स्वास्थ्य पूर्वाधार निर्माणका लागि यो कदम चालेको हो।
ट्रस्टका एक प्रतिनिधिका अनुसार, सुत्केरी सेवा केन्द्रमा प्रसूति कक्ष, महिला स्वास्थ्य स्वयंसेविकाका लागि तालिम व्यवस्था, र आवश्यक स्वास्थ्य उपकरणको व्यवस्थासहित पूर्ण सुविधा उपलब्ध हुने छ। निर्माण सम्पन्न भएपछि केन्द्रलाई स्थानीय स्वास्थ्य संस्था र जनस्वास्थ्य निकायसँग समन्वय गरेर संचालन गरिने योजना ट्रस्टको छ। सामाजिक सञ्जाल र स्थानीय सञ्चारमाध्यममा पूर्व युवराज्ञीको भ्रमण र सेवा केन्द्र शिलान्यासको समाचारले सकारात्मक चर्चा पाइरहेको छ। स्थानीय बासिन्दाहरूले यसलाई भावनात्मक र सेवा–केन्द्रित पहलको रूपमा लिएर स्वागत गरेका छन्।
“हिमानी ट्रस्टले दुर्गम जुम्लामा आउनु र यहाँको समस्या बुझेर सेवा पुर्याउनु आफैंमा प्रेरणादायी उदाहरण हो,” एक स्थानिय महिला स्वास्थ्य स्वयंसेविकाले भनिन्। हिमानी ट्रस्टको यो कदमले मातृ तथा शिशु स्वास्थ्यको क्षेत्रमा सार्थक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। यसले जुम्ला जिल्लाका ग्रामीण महिलाहरूको स्वास्थ्य सेवामा प्रत्यक्ष प्रभाव पार्ने विश्वास गरिएको छ।












