पर्सा, असार २ — भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २,४०० ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१ स्थित घोडदौड क्षेत्रबाट आइतबार २४ वटा कार्टुनमा लुकाएर ल्याइएका ती चल्ला बरामद गरेको हो। ती भारतीय नम्बर प्लेटको मोटरसाइकलमा लोड गरी नेपालतर्फ तस्करी गरिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी देवेन्द्र बहादुर सिंहले जानकारी दिए।
नियन्त्रणमा लिइएपछि क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीहरूको रोहबरमा सो चल्लाहरू नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। घटनासँग सम्बन्धित व्यक्ति पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका–२, जानकी टोलका ४५ वर्षीय नवी देवानलाई प्रहरीले मोटरसाइकलसहित नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ।
भारतबाट भित्रिने प्रतिबन्धित कुखुरा तथा कुखुराका चल्ला नेपालमा कृत्रिम मूल्य प्रतिस्पर्धा, रोग संक्रमण र पशुपन्छी स्वास्थ्यमा खतरा हुने भन्दै समय–समयमा सरकारले कडाइ गर्दै आएको छ। तराईका सीमावर्ती जिल्लाहरूमा यस्तो अवैध पैठारी दोहोरिने समस्या रहेको अधिकारीहरूको भनाइ छ।












