– पाटन उच्च अदालतको अन्तरिम आदेशले काममा फर्किने बाटो खुला
४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई निलम्बन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ। अदालतको यो निर्णयसँगै पाण्डे पुनः आफ्नो पदमा फर्किने बाटो खुलेको छ। राजु पाण्डेलाई गत चैतमा महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको कार्यकक्ष प्रवेशमा अवरोध पुर्याएको आरोपमा ६ महिनाका लागि निलम्बन गरिएको थियो। तर, पाण्डेले उक्त निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका थिए।
दुवै पक्षको सुनुवाइपछि न्यायाधीश ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले सुरक्षा व्यवस्थाको सामान्य प्रबन्ध गरेका मात्र देखिएको भन्दै उनलाई निलम्बन गर्नु उपयुक्त नहुने ठहर गरेको हो। अदालतको आदेशमा भनिएको छ, “नगर प्रहरी प्रमुखको हैसियतमा पाण्डेले महानगरको सुरक्षा व्यवस्था गर्ने जिम्मेवारी वहन गर्छन्। नियमितभन्दा बढी भिडभाड भएको अवस्थामा सुरक्षाको व्यवस्था गर्नु स्वाभाविक हो।”
उक्त आदेशअनुसार, अब पाण्डेलाई निलम्बनको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नुपर्नेछ। साथै, उनलाई पुनः आफ्नो जिम्मेवारी अनुसार कार्य गर्न दिनु पर्नेछ। अदालतको यो आदेश मुद्दाको टुंगो नलागेसम्म कायम रहनेछ। यस निर्णयले मेयर बालेन शाहलाई पनि राजनैतिक र नैतिक रूपमा बल पुगेको छ। यस घटनाले केन्द्र र स्थानीय सरकारबीचको प्रशासनिक खिचातानी र अधिकार प्रयोगको विवादलाई फेरि सतहमा ल्याएको छ।













