२०८३ आश्विन ४ आईतवार
Search
२०८३ आश्विन ४ आईतवार

पर्यटक लोभ्याउँदै लम्जुङको भुजुङ गाउँ: प्राचीन गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालय

गण्डकी प्रदेशको लम्जुङ जिल्लामा अवस्थित भुजुङ गाउँ प्राचीन गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयको रूपमा परिचित छ। क्व्होलासोथार गाउँपालिका–४ मा पर्ने यो गाउँमा करिब ५०० घरधुरी छन् भने ३३ घरमा पर्यटक बसोबासको लागि घरबास सञ्चालनमा छ। दैनिक करिब ५० देखि ६० पर्यटक यहाँको सांस्कृतिक र प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउँछन्। समुद्र सतहदेखि करिब १६०० मिटर उचाइमा अवस्थित भुजुङ गाउँ घना जंगल, घाँसे मैदान र खर्कले घेरिएको छ। गाउँबाट लम्जुङ हिमाल र अन्नपूर्ण हिमाल पनि देखिन्छन्, जसले थप मनमोहक दृश्यावली प्रदान गर्दछ।

भुजुङका पूर्व समाज अध्यक्ष तथा घरबास सञ्चालक रामचन्द्र गुरुङले बताएअनुसार यहाँ गुरुङ समुदायको परम्परागत रीतिरिवाज, भाषा, वेषभूषा र संस्कृतिलाई जीवन्त रुपमा जगेर्ना गरिएको छ। गाउँमा प्राचीन शैलीका गुजुमुज्ज (ढुंगा र जस्ताले छाएका) घरहरू, ढुङ्गाले बनाइएका चोक र बाटोहरूले यस ठाउँलाई पुरानो समयको झलक दिने गर्दछ। घरबास सञ्चालक तुलबहादुर गुरुङका अनुसार, भुजुङमा २०६३ सालदेखि घरबास सेवा सञ्चालनमा आएको हो र हाल ३३ घरले पर्यटकलाई आतिथ्य प्रदान गरिरहेका छन्। यहाँको प्रमुख खानाका परिकारमा कोदोको ढिँडो, सिस्नो, गुन्द्रुक, निउरो, कुरिलो, पिँडालुका परिकार, कोदोको रक्सी र खसी कुखुराको मासु समावेश छन्।

गाउँमा करिब ९० प्रतिशत गुरुङ समुदायको बसोबास छ, जसले यसलाई गुरुङ संस्कृतिको एक प्रमुख केन्द्र बनाएको छ। यहाँका प्राचीन गुम्बा, चिया बगान र सन्तानेश्वर महादेव मन्दिर पर्यटकहरूका लागि आकर्षणका केन्द्र हुन्। स्थानीय विश्वास छ कि सन्तान प्राप्त नहुँदा दम्पत्तिले सन्तानेश्वर महादेव मन्दिरमा पूजा गर्दा सन्तान प्राप्त हुने शुभ फल प्राप्त हुन्छ।

भुजुङमा पहिलो पटक २०६४ सालमा भुजुङ महोत्सव आयोजना गरिएको थियो र त्यसयता यहाँ विभिन्न सांस्कृतिक प्रवद्र्धनात्मक कार्यक्रमहरू हुँदै आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को आर्थिक र प्राविधिक सहयोगमा यहाँको घरबास पर्यटन शुरू भएको थियो, जसले स्थानीय जनतालाई आर्थिक अवसर प्रदान गरेको छ। सुरुमै १५ घरबाट सुरु गरिएको घरबास अहिले ३३ घरमा विस्तार भएको छ।

गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा गुरुङ सम्पदा पदमार्ग कार्यक्रमका संयोजक बोबरजङ्ग गुरुङले भुजुङलाई गुरुङ सम्पदा पदमार्गमा समावेश गरिएको जानकारी दिनुभयो। यस पदमार्ग अन्तर्गत कास्की, लम्जुङ लगायतका गुरुङ गाउँहरू, दूधपोखरी, गुरुङ देउरालीलगायतका धार्मिक तथा प्राकृतिक स्थलहरू जोडिने छन्। यसमार्फत पदयात्रा पर्यटन प्रवर्द्धन गरी स्थानीयको आय आर्जन वृद्धि गर्ने लक्ष्य रहेको उनले बताउनुभयो। हालै, नेपाल पर्यटन बोर्ड, क्होलासोथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिकाको सहयोगमा भुजुङ, सिङ्दी, पसगाउँ, घनपोखरा हुँदै चार हजार ६०० मिटर उचाइमा रहेको दूधपोखरी धार्मिक पर्यटकीय गन्तव्यसम्मको खोज तथा अन्वेषणात्मक पदयात्रा सम्पन्न गरिएको छ।

पदयात्रा मार्गमा जथाभावी बाटो खनेर पदमार्ग नष्ट हुँदै गएकोले गुरुङ सम्पदा पदमार्ग विकासलाई पदयात्रा पर्यटनको वैकल्पिक र दिगो विकल्पको रूपमा विकास गर्न पहल भइरहेको छ। गुरुङ पर्यटन व्यवसायी सङ्घकी अध्यक्ष किसमकुमारी गुरुङले यस विषयमा जानकारी दिइन्। भुजुङ गाउँले आफ्नो मौलिकता, संस्कार र प्राकृतिक सौन्दर्यलाई जगेर्ना गर्दै पर्यटकहरूको मन जित्न सफल हुँदै आएको यो गाउँ अब एक प्रमुख पर्यटकीय गन्तव्यको रूपमा उदाउँदैछ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।