काठमाडौं, १ साउन — नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक आज काठमाडौंको च्यासलस्थित पार्टी मुख्यालयमा प्रारम्भ भएको छ। बैठकको मुख्य उद्देश्य आगामी दोस्रो विधान महाधिवेशनको तयारी र त्यससम्बन्धी कार्यसूचीमा केन्द्रित रहनु हो। बैठक पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको हो। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएअनुसार बैठकमा विधान संशोधन, सांगठनिक पुनर्संरचना, र राजनीतिक प्रतिवेदनबारे गहन छलफल हुनेछ। स्रोतका अनुसार, आजको बैठकमा तीन प्रमुख प्रस्तावहरू पेश गरिँदैछन्— राजनीतिक प्रतिवेदन – अध्यक्ष केपी शर्मा ओलीबाट, विधान संशोधनको प्रस्ताव – उपाध्यक्ष विष्णु पौडेलबाट, सङ्गठनात्मक प्रतिवेदन – महासचिव शङ्कर पोखरेलबाट गरिदैँछन्।
बैठकमा पार्टीको संरचना, कार्यविधि, र सांगठनिक अनुशासनबारे विधान संशोधन प्रस्तावहरू प्रस्तुत हुनेछन्। पार्टी स्रोतका अनुसार विधान महाधिवेशनको तयारीसँगै साउन २ गते बस्ने पोलिटब्युरो बैठक र साउन ५ गतेको केन्द्रीय कमिटी बैठकका कार्यसूचीहरू पनि यसै बैठकबाट तय गरिनेछ। विधान महाधिवेशनमार्फत पार्टीभित्र नेतृत्वको भूमिकामा स्पष्टता ल्याउने, केन्द्रदेखि स्थानीय तहसम्मको सांगठनिक संरचना सुदृढ गर्ने, र आगामी निर्वाचन रणनीतिमा एकरूपता ल्याउने कार्य योजना तय गरिने विश्वास गरिएको छ। पछिल्लो समय एमाले आन्तरिक रुपमा सांगठनिक सुदृढीकरण र नीति निर्माणको प्रक्रियामा जुटिरहेको छ। सो सन्दर्भमा आजको सचिवालय बैठकलाई निर्णायक र दिशानिर्देशक बैठकको रूपमा लिइएको छ। पार्टी स्रोतका अनुसार विधान महाधिवेशन आगामी महिना भित्र आयोजना हुने अपेक्षा गरिएको छ, जसले पार्टीको नीति, दृष्टिकोण र कार्यदिशामा दीर्घकालीन प्रभाव पार्नेछ।








