काभ्रेपलाञ्चोक, १ साउन २०८२– मनसुन सक्रिय भएसँगै लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय, धुलिखेलले काभ्रेपलाञ्चोक खण्डअन्तर्गत वीपी कोइराला राजमार्गमा राति १२ घण्टासम्म सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ। आज १ साउनदेखि लागू हुने यो निर्णयअनुसार आगामी एक महिनासम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा सवारीसाधन सञ्चालन गर्न नपाइनेछ। प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार, यो रोकप्रति सुरक्षा समिति तथा अन्तरजिल्ला समन्वय समितिको बैठकबाट निर्णय गरिएको हो। बैठकमा काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका पदाधिकारीहरूको सहभागिता थियो।
यसअघि असार ७ गतेदेखि असार मसान्तसम्म दैनिक साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म १० घण्टाका लागि सोही खण्डमा अस्थायीरूपमा रोक लगाइएको थियो। तर हाल मौसममा थप असहजता देखिएको र एक हप्तामै चार पटकसम्म बाढी र पहिरोले सडक अबरुद्ध गरेपछि निर्णयलाई अझ कडाइका साथ विस्तारित गरिएको प्रशासनले जनाएको छ। नयाँ निर्णय लागू भएपछि काठमाडौँबाट पूर्वी नेपालतर्फ जाने सवारी साधनहरूलाई काभ्रेभञ्ज्याङमा रोकिनेछ भने पूर्वबाट काठमाडौँ आउन चाहने सवारी साधनहरू नेपालथोकमा नै रोकिने छन्।
गत वर्ष असोजमा आएको बाढी र पहिरोले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको करिब ८ किलोमिटर सडक खण्डमा ठूलो क्षति पुर्याएको थियो। सडक बगाएर लैजाँदा कतै एकतर्फी, कतै दुईतर्फी अस्थायी सडकको सहायताले आवागमन सम्भव गरिएको थियो। सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्मको ३४ किलोमिटर र नेपालथोकदेखि काभ्रेको धुलिखेलसम्मको ५० किलोमिटर खण्ड गरी जम्मा ८४ किलोमिटर क्षेत्रभित्र सडकको विभिन्न स्थानमा गम्भीर क्षति पुगेको छ।
वीपी राजमार्ग पूर्वी नेपाललाई काठमाडौंसँग जोड्ने छोटो दुरीको मुख्य मार्ग हो। दैनिक हजारौँ सवारीसाधन चल्ने यस मार्गको महत्त्वलाई ध्यानमा राख्दै सरकारले क्षतिग्रस्त क्षेत्रको स्थायी पुनर्निर्माणका लागि चार खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाइरहेको जनाएको छ। स्थानीय प्रशासन र सुरक्षा निकायले बाढी–पहिरोको जोखिम न्यूनीकरण तथा सम्भावित मानवीय क्षति रोक्न सतर्कता अपनाउने प्रतिबद्धता जनाएका छन्। यसरी अस्थायी रूपमा लागू गरिएको रोकलाई मौसमको अवस्थाको मूल्यांकन गर्दै आवश्यकतानुसार पुनरावलोकन गरिने बताइएको छ।








