२ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीको प्रवेश परीक्षा शनिबार बिहान सञ्चालन गर्ने भएको छ। महानगरको शिक्षा विभागका अनुसार छात्रवृत्ति कार्यक्रम आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा योग्य विद्यार्थीलाई लक्षित गर्दै विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको छ। यस वर्ष देशभरका ७७ जिल्लाबाट प्राप्त १७ हजार २ सय २९ आवेदनमध्ये प्रारम्भिक छानबिनपछि १६ हजार १ सय ३७ विद्यार्थीलाई प्रवेश परीक्षामा सहभागी हुने अनुमति दिइएको छ।
छनोट भएका विद्यार्थीमध्ये विज्ञान संकायका लागि ११,५९०, व्यवस्थापनका लागि ४,१६४, मानविकी ३२, शिक्षा ९५, कानुन संकायका लागि २५६ जना रहेका छन्। परीक्षा बिहान ८ देखि १० बजेसम्म हुदैँछ । प्रवेश परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ। परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित रहनेछ।
प्रश्नपत्रमा १०० बहुविकल्पीय प्रश्न हुनेछन् —गणित : ३०, ज्ञान : ३०, अंग्रेजी : ३०, सामान्य ज्ञान : १० रहेका छन् । परीक्षामा उत्तीर्ण हुन न्यूनतम ४० प्रतिशत अंक अनिवार्य गरिएको छ। गलत उत्तरका लागि नकारात्मक अंकन लागू हुनेछैन। विद्यार्थीहरूले १ साउनदेखि महानगरको वेबसाइटबाट प्रवेशपत्र डाउनलोड गर्न सक्ने व्यवस्था गरिएको छ।
छात्रवृत्ति प्रवेश परीक्षा निष्पक्ष, मर्यादित र व्यवस्थित होस् भन्ने उद्देश्यले काठमाडौं महानगरले परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा शिक्षा विभागका निमित्त प्रमुख केशव ज्ञवाली र शिक्षा अधिकृत इन्द्रप्रसाद दाहालले परीक्षा सञ्चालन, सुरक्षा व्यवस्था, प्रश्नपत्रको गोप्यता, उत्तरपुस्तिका व्यवस्थापन र अनुशासन सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए। केन्द्राध्यक्षहरूलाई परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै परीक्षा केन्द्रमा उपस्थित भई सिट योजना, विद्यार्थी परिचय प्रमाणीकरण, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइएको छ। प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागू गरिएको महानगरले जनाएको छ। कुनै अनियमितता भएमा तत्काल प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।








