काठमाडौँ, ३ साउन – बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिप अन्तर्गत शनिबार भएको खेलमा नेपालले भुटानलाई ८–० गोलअन्तरले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ। नेपाली टोलीका लागि मिना देउवा र पूर्णिमा राईले समान ह्याट्रिक गर्दै टोलीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे। खेलको सुरुवाती मिनेटमै मिना देउवाले गोल गर्दै नेपालको खाता खोलेकी थिइन्। नवौं मिनेटमा समीक्षा मगरले अर्को गोल थपेपछि नेपालले सहज अग्रता लिएको थियो। त्यसको केही मिनेटमै मिनाले आफ्नो दोस्रो गोल गरिन् भने २३औं मिनेटमा पूर्णिमा राईले टोलीका लागि तेस्रो गोल गर्दै प्रतियोगिताको आफ्नो आठौं गोल पूरा गरिन्।
इन्जुरी समयमा पूर्णिमाले अर्को गोल गरेकी थिइन् भने केही मिनेटमै ह्याट्रिक पनि पूरा गरिन्। दोस्रो हाफमा कुसुम खतिवडाले ६४औं मिनेटमा गोल गर्दै स्कोर ७–० बनाइन्। त्यसको एक मिनेटपछि मिनाले व्यक्तिगत तेस्रो तथा टोलीका लागि आठौं गोल गरेकी थिइन्। भुटानविरुद्ध नेपालले यस प्रतियोगितामा दोस्रोपटक जीत निकालेको हो। यसअघि पहिलो भेटमा नेपालले भुटानलाई ६–१ ले हराएको थियो, जसमा पूर्णिमाले ४ र सेनु परियारले २ गोल गरेकी थिइन्।
चार राष्ट्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन प्रणालीमा सञ्चालन भइरहेको छ। हालसम्म नेपालले ५ खेलबाट १२ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आयोजक बंगलादेशको पनि समान १२ अंक भए पनि नेपाल गोल अन्तरका आधारमा अघि छ। यद्यपि, बंगलादेशले शनिबार श्रीलङ्काविरुद्ध खेल्दैछ र उक्त खेलपछि पुनः अंक तालिका फेरिन सक्छ। नेपालले यसअघि श्रीलङ्काविरुद्ध दुई खेलमा पनि ७–० को विशाल जित हात पारेको थियो। एक मात्र हार भने बंगलादेशसँग प्रतिस्पर्धात्मक खेलमा २–३ गोल अन्तरले व्यहोरेको थियो। अब सोमबार हुने नेपाल र बंगलादेशबीचको खेल नै च्याम्पियनसिपको उपाधिका लागि निर्णायक हुनेछ।








