२०८३ भाद्र ३० मंगलवार
Search
२०८३ भाद्र ३० मंगलवार

आगामी तीन दिनभित्र बाढीको उच्च जोखिम, जलविद्युत आयोजनाहरूलाई सतर्क रहन इप्पानको आग्रह

काठमाडौँ, ३ साउन – आगामी तीन दिनभित्र देशका प्रमुख नदीहरूमा जलसतह तीव्र रुपमा बढ्ने पूर्वानुमान गरिएको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले देशभरका सम्पूर्ण जलविद्युत आयोजना तथा प्रवर्द्धकहरूलाई उच्च सतर्कता अपनाउन विशेष अपिल गरेको छ। जल तथा मौसम विज्ञान विभागको ताजा पूर्वानुमान अनुसार श्रावण ३, ४ र ५ गते देशभर भारी वर्षा हुने सम्भावना रहेको र त्यसको प्रत्यक्ष प्रभाव नदीहरूमा जलसतहको असामान्य वृद्धि, बाढी तथा भूक्षयको रूपमा देखिन सक्ने आँकलन गरिएको छ। यथोचित सावधानी नअपनाएमा जलविद्युत क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति हुने सम्भावना देखिएपछि इप्पानले विस्तृत सूचनासहित सतर्कता अपनाउन आह्वान गरेको हो।

जल तथा मौसम विज्ञान विभागले दिएको जानकारीअनुसार साउन ३ गते साँझदेखि पूर्वी नेपालमा भारी वर्षाको सम्भावना अत्यधिक रहेको छ। विशेषगरी कोशी, तामोर, अरुण, तामाकोशी, दूधकोशी, कन्काई जस्ता नदीहरूमा पानीको बहाव तीव्र हुन सक्ने र कोशी नदीले सतर्कता तह पार गर्न सक्ने अवस्था देखिएको छ। उक्त प्रणाली पूर्वबाट पश्चिम सर्ने क्रममा ४ गते बेलुकादेखि ५ गते दिउँसोसम्म बागमती नदी प्रणाली,  प्ती, बबई, तथा महाकाली नदी र त्यसका सहायक जलाशयहरूमा पनि बाढीको उच्च सम्भावना रहेको उल्लेख गरिएको छ। मध्य तथा पश्चिम नेपालमा बागलुङ, म्याग्दी, पर्वत, स्याङ्जा, पाल्पा, नवलपरासी, रुपन्देही लगायतका जिल्लाहरूमा यस प्रणालीको प्रभाव विशेष रूपमा देखिनेछ। यसले नारायणी जलाधार प्रणालीमा समेत व्यापक असर पार्ने सम्भावना रहेको इप्पानले जनाएको छ।

इप्पानले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “देशभर निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरूले सम्भावित बाढीजन्य घटनाबाट मानवीय तथा भौतिक क्षति नहोस् भन्नका लागि तत्काल पूर्वतयारी प्रक्रिया सुरु गर्नुपर्छ।” विज्ञप्तिमा जलविद्युत आयोजनाहरूका लागि निम्न प्राथमिक कदमहरू तत्काल चाल्न आग्रह गरिएको छ: मानवीय क्षति रोकथामलाई सर्वोच्च प्राथमिकता दिनु, बाढीको सूचना पाउनेबित्तिकै तल्लो क्षेत्रमा रहेका आयोजना तथा स्थानीयवासीलाई तुरुन्त जानकारी दिनु, विद्युत उत्पादन तत्काल रोक्नुपर्ने अवस्था आएमा नेपाल विद्युत प्राधिकरणसँग समन्वय गरेर आयोजना गेटहरू बन्द गर्नुपर्छ। स्थानीय प्रशासन र गेज स्टेशन कर्मचारीहरूसँग निरन्तर सम्पर्क राख्दै सुरक्षित स्थानमा मानिसहरूलाई सार्ने व्यवस्था मिलाउनु हाे । 

इप्पानले आफ्नो विज्ञप्तिमा विगतका बाढी घटनाहरूको सन्दर्भ पनि जोडेको छ। विशेषगरी, गत असार २४ गते भोटेकोशी नदीमा आएको बाढीले रसुवा र नुवाकोटमा निर्माणाधीन तथा सञ्चालनमा रहेका आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको थियो। त्यसबेला धेरै कर्मचारीहरूको ज्यान गएको तथा आयोजनाहरू लामो समयसम्म बन्द हुनुपरेको उल्लेख गर्दै इप्पानले यस्ता घटना दोहोरिन नदिन हालैको मौसम पूर्वानुमानलाई अत्यन्त गम्भीरतापूर्वक लिन आह्वान गरेको हो। इप्पानले अन्त्यमा भनेको छ कि, पूर्वतयारी हुँदाहुँदै पनि कतै मानवीय वा भौतिक क्षति भएमा त्यसको विवरण यथासक्य चाँडो इप्पानमा प्रतिवेदन गरिदिन समेत अनुरोध गरिएको छ। यसले भविष्यमा अझ प्रभावकारी व्यवस्थापन गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ।

Picture of लाल विहानी

लाल विहानी

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।