बुटवल, ६ साउन — नेपालको अग्रणी औद्योगिक समूह पञ्चकन्या ग्रुपले रुपन्देहीको सियारी गाउँपालिकामा देशकै सबैभन्दा ठूलो यूपीभीसी (uPVC) झ्याल–ढोका उद्योग स्थापना गरेको छ। ‘पञ्चकन्या डिमेक्स’ नामक यो उद्योगबाट चार ब्राण्डका उत्पादनहरू—डिमेक्स, निओ प्लास्ट, टोनिस र साल—औपचारिक रूपमा सार्वजनिक गरिएको छ। उद्योग २ बिघा क्षेत्रफलमा फैलिएको छ र ८० करोड रुपैयाँको लगानीमा स्थापना गरिएको हो। यस उद्योगले हाल ६५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिसकेको छ। कम्पनीले आगामी दिनमा अझ धेरै रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।
पञ्चकन्याले पहिलोपटक नेपालमै अन्तर्राष्ट्रिय डिजाइन र गुणस्तरमा आधारित गरी युरोपियन प्रविधियुक्त प्रोफाइल उत्पादन थालेको छ, जसमा उडन, ग्रे, वालनट र ब्ल्याक रंगहरू छन्। अहिले सम्म नेपालमा सेतो रंगका प्रोफाइल मात्रै प्रचलनमा थिए। उद्योगका अध्यक्ष उज्ज्वलकुमार श्रेष्ठका अनुसार, यी उत्पादनहरूमा जर्मन संस्थान एसकेजेड (SKZ) बाट गुणस्तर प्रमाणीकरण प्राप्त भइसकेको छ। प्रयोग गरिएका टीपीई ग्यासकेट रबरका कारण यी प्रोफाइलहरू अधिक टिकाउ, चुहावटरहित र लामो समयसम्म चल्ने बनाइएको छ। नेपालमा वार्षिक झण्डै १० हजार मेट्रिक टन यूपीभीसीको माग रहेकोमा ९०% चीन र बाँकी भारतबाट आयात हुने गरेको पाइएको छ। यस उद्योगको स्थापना आयात प्रतिस्थापन गर्ने र भविष्यमा निर्याततर्फ उन्मुख हुने रणनीति अन्तर्गत गरिएको हो। हाल उद्योगको वार्षिक उत्पादन क्षमता ६ हजार मेट्रिक टन रहेको छ, जुन कुल बजारको ५०% हो।
उद्योगले चालु आर्थिक वर्षमा १५% बजार हिस्सा, अर्को वर्ष ३५% र पाँच वर्षभित्र ५०% बजार हिस्सा ओगट्ने लक्ष्य राखेको छ। कच्चा पदार्थ अमेरिका, जापान, जर्मनी, चीन, भारत र भियतनामबाट आयात गरिन्छ। तर कच्चा पदार्थमा १०% भन्सार लाग्दा प्रतिस्पर्धा कठिन भएकाले यसलाई घटाएर ५% बनाउन सरकारलाई आग्रह गरिएको छ। उद्योगका निर्देशक उदिप श्रेष्ठ र म्यानेजिङ डाइरेक्टर रितेश सिलवालका अनुसार, उत्पादनको गुणस्तरबारे जनचेतना फैलाउन बुटवल र काठमाडौंमा तालिम केन्द्र स्थापना गरिनेछ। फेब्रिकेटरहरूलाई दक्ष बनाई ‘सर्टिफाइड’ गर्ने र उनीहरूमार्फत मात्र उत्पादनको जडान गराउने योजना छ।
हाल नेपालमा ८ सय जति यूपीभीसी मिस्त्री र ४७ व्यवसायी क्रियाशील छन्, जसमा २ सयजना पञ्चकन्या डिमेक्ससँग आबद्ध भइसकेका छन्। पञ्चकन्या ग्रुप पहिले देखिनै फलामे छड, खानेपानी पाइप, पीभीसी पाइप, रेडिमेड कंक्रिटजस्ता निर्माण सामग्री उत्पादनमा क्रियाशील छ। अब यूपीभीसी प्रोफाइल उद्योग थपिएसँगै निर्माण सामग्रीका सम्पूर्ण समाधान एकै ठाउँबाट उपलब्ध गराउने ‘वान विन्डो सोलुसन’ बन्ने लक्ष्य लिएको छ।








