काठमाडौं, साउन ८ – नेपालको सेयर बजारमा हाइड्रोपावर समूहले हालसम्मकै उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम गरेको छ। बिहीबारको कारोबारमा यो समूह २ प्रतिशतले वृद्धि हुँदै ३,९४१ अंकमा पुगेको छ, जुन अहिलेसम्मकै उच्च सूचकांक हो। यो वृद्धिले सेयर बजारमा हाइड्रोपावरको भूमिकालाई फेरि एकपटक केन्द्रमा ल्याएको छ। हाल बजारमा सूचीकृत १२ वटा विभिन्न क्षेत्रीय समूहहरूमध्ये हाइड्रोपावर समूहमा सबैभन्दा धेरै, अर्थात् ९२ वटा कम्पनी सूचीकृत छन्। समूहगत सूचकांकको हिसाबले हेर्दा, नेप्से परिसूचक समग्रमा ०.१२ प्रतिशत मात्र बढेको थियो भने हाइड्रोपावर समूह २ प्रतिशतले छलाङ मारेको हो।
यो वृद्धिले करिब चार वर्षअघिको ऐतिहासिक रेकर्डलाई समेत तोडेको छ। २०७८ सालको भदौ २ गते, हाइड्रोपावर समूहले उच्चतम सूचकांक कायम गरेपछि यो समूह फेरि यति उचाइमा पुगेको हो। त्यतिबेला नेप्से परिसूचकले ३,१९८ अंकको रेकर्ड बनाएको थियो, जुन अझै कायम छ। तर, हाइड्रोपावर समूहले भने ३,९४१ अंक पार गर्दै आफ्नो पुरानो रेकर्ड तोड्न सफल भएको छ। यसअघि बुधबार मात्र अन्य समूहहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको थियो, तर हाइड्रोपावरले बिहीबार सबैलाई पछि पार्दै शीर्ष स्थान हासिल गर्यो। हाइड्रोपावर समूहभित्रका प्रमुख कम्पनीहरू – कालिका पावर, राधी विद्युत्, बुटवल पावर, र ङादी ग्रुप – को सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। यी कम्पनीहरूले बजारको आत्मविश्वास झनै बढाइदिएका छन्।
बजारमा साना देखि ठूला पूँजीका कम्पनीहरू समेटिएको हाइड्रोपावर समूहको अर्को विशेषता पनि यहीं हो। उदाहरणका लागि, चुक्ता पूँजीको हिसाबले सानो समूहमा १३ करोड ४० लाख रुपैयाँदेखि लिएर ठूला समूहमा ८ अर्ब ७२ करोड रुपैयाँसम्मका कम्पनीहरू रहेका छन्। सेयर विश्लेषक र लगानीकर्ताहरूका अनुसार, ब्याजदर घटेसँगै हाइड्रोपावर कम्पनीहरूको वित्तीय लागत कम भएको छ, जसले प्रत्यक्ष रूपमा नाफामा सुधार ल्याएको छ। चौथो त्रैमासिक वित्तीय विवरण राम्रो आउने अपेक्षाले पनि लगानीकर्ताको मनोबल बलियो भएको हो। यससम्बन्धी जानकारी दिँदै लगानीकर्ता सुवासचन्द्र ढुंगानाले भने, “हाइड्रोपावर क्षेत्रको ठूलो फाइदा भनेको उत्पादन भएको विद्युत् निश्चित सम्झौता अनुसार बिक्री हुनु हो। आम्दानी तय भएको हुन्छ, असुली वा डिफल्टको डर हुँदैन। यही विश्वसनीयताले लगानीकर्तालाई आकर्षित गरिरहेको हो।”
ढुंगानाका अनुसार, हाइड्रोपावर व्यवसाय अन्य क्षेत्रको तुलनामा स्थिर र जोखिम कम भएको क्षेत्र मानिन्छ, जहाँ उत्पादनपछि आम्दानी टुंगो हुन्छ, न त ऋण फस्र्योटको डर हुन्छ, न त ग्राहक भुक्तानी नगर्ने जोखिम। यसैकारण धेरै लगानीकर्ता हाइड्रोपावरतर्फ आकर्षित भएका हुन्। पछिल्लो समय, सेयर कारोबारको रकम र संख्याको हिसाबले पनि ठूला पूँजी भएका हाइड्रोपावर कम्पनीहरूको सहभागिता उल्लेखनीय देखिएको छ। यस्तो सक्रियताले बजारमा हाइड्रोपावरको मूल्यवृद्धि र समग्र सूचकांक दुवैलाई उकालो लगेको छ। यस समूहमा नयाँ कम्पनीहरूको सूचीकृत हुने क्रम पनि बढ्दो छ, जसले समग्र हाइड्रोपावर क्षेत्रको प्रतिनिधित्व बढाइरहेको छ। नीति निर्माताहरू र लगानीकर्ताहरू दुवैका लागि यो सूचक हो कि नेपालको जलविद्युत् क्षेत्रले लगानीको दृष्टिले अझै धेरै सम्भावना बोकेको छ।








