काठमाडौं, ८ साउन — आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीका अभिव्यक्तिहरूलाई ‘हावादारी’ भन्दै तीप्र आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले प्रधानमन्त्रीको अभिव्यक्तिले समाजमा भ्रम, द्वन्द्व र विनाश निम्त्याउने भन्दै सभामुखबाट आवश्यक रुलिङको माग गरेका हुन्। सांसद साहले प्रधानमन्त्रीले तथ्य र प्रमाणबिनाका विषय सार्वजनिक रूपले उठाउने परिपाटी त्याग्नुपर्ने बताए। उनले भने, “प्रधानमन्त्रीजस्तो गरिमायुक्त पदमा बसेर झुटको खेती गर्नु, आँपलाई इम्ली भन्नु, समाजलाई अन्धकारतर्फ धकेल्नु कदापि स्वीकार्य छैन। यस प्रकारको प्रवृत्तिमा सभामुखबाट रुलिङ हुन जरुरी छ।”
प्रधानमन्त्री ओलीले पटकपटक ‘राम चितवनमा जन्मेका हुन्’ भन्ने अभिव्यक्ति दिँदै आएको विषयमा कडा आपत्ति जनाउँदै सांसद साहले भने, “प्रधानमन्त्री भन्नुहुन्छ, श्रीराम नेपालमा जन्मेका हुन्, चतरा विश्वामित्रको आश्रम हो भनेर। म प्रश्न गर्न चाहन्छु— के नेपालका आदिवासी जनजाति होइनन्? यहाँको मूल मालिक क्षेत्री–बाहुन हुन् त?” साहले रामायणलाई क्षेत्री–बाहुन समुदायको परम्परागत आख्यान भएको उल्लेख गर्दै आदिवासी थारु, किरातीलगायत समुदायको इतिहासलाई ओझेलमा पार्न खोजिएको आरोप लगाए। उनले थपे, “चितवनका आदिवासी थारु हुन्, चतराका किराती हुन्। उनीहरूको अस्तित्व अस्वीकार गरेर क्षेत्री–बाहुनको धारणा घुसाएर राजनीतिक स्टन्ट गर्नु निन्दनीय छ।”
प्रधानमन्त्रीले यथार्थ प्रस्तुत गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै साहले इतिहासमा छेडछाड गरेर जनजाति समुदायको पहिचान मेट्ने प्रयास अस्वीकार्य हुने चेतावनी दिए। “नेपाल कहिल्यै गुलाम भएन, यसको मुख्य कारण यहाँको मूल जनसंख्या आदिवासी समुदाय हो। उनीहरूको इतिहास खोतल्नु प्रधानमन्त्रीको दायित्व हो, गुमराहमा पार्ने होइन,” उनले भने। प्रधानमन्त्रीका यस्ता कथित भ्रमपूर्ण अभिव्यक्तिले समाजमा द्वन्द्व र गहिरो असन्तोष निम्त्याउने खतरा रहेको उल्लेख गर्दै सांसद साहले प्रधानमन्त्रीलाई सत्यमा आधारित इतिहास प्रस्तुत गर्न आग्रह गरे। “तपाईं सत्यमा दृढ हुनुहुन्छ भने भारतीय प्रधानमन्त्री मोदीसँग भेटेर प्रमाण सहित वार्ता गर्नुहोस्,” साहले चुनौती दिए।
प्रधानमन्त्री ओलीकै मन्त्रिपरिषदमा रहँदा सीता जननीको चित्र सहितको क्यालेन्डर निकाल्ने प्रस्ताव आफैंले राख्दा अस्वीकार गरिएको स्मरण गर्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति, व्यवहार र निर्णय एकरूप हुनुपर्नेमा जोड दिए। “प्रधानमन्त्री स्तरबाट झुट फैलाउनु, इतिहास बिगार्नु, समाजलाई गुमराह बनाउनुको कुनै अधिकार छैन,” उनले भने। अन्त्यमा सांसद साहले संसद्मा छलफलका लागि विषय उठाउँदै सभामुखलाई सम्बोधन गर्दै माग गरे— “प्रधानमन्त्रीजस्तो संवैधानिक पदमा बसेको व्यक्तिले यस्ता हावादारी कुरा गर्नुहुँदैन। तथ्यमा आधारित कुरा संसदमा ल्याइयोस् र यसबारे गम्भीर छलफल होस्।”








